अन्तर्राष्ट्रिय

राष्ट्रसंघ मानवअधिकार उच्च आयोगको चिन्ता

काठमाडौं – हालै भारतले विशेष राज्यको दर्जा खारेज गरेको जम्मु कश्मीरको अवस्थालाई लिएर संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्च आयोगले चिन्ता व्यक्त गरेको छ ।

उच्च आयोगका प्रवक्ता रुपर्ट कोल्भिल्ले कश्मीर संकटप्रति गहिरो चिन्ता व्यक्त गर्दै अहिलेको अवस्थाले कश्मीर क्षेत्रमा मानव अधिकारको स्थिति थप बिग्रने बताएका छन् । कश्मीर उपत्यकामा टेलिफोन, मोबाइल र इन्टरनेटलगायतका सेवा बन्द गरिएको र नेताहरुलाई हिरासतमा लिइएकोप्रति पनि उनले चिन्ता व्यक्त गरेका छन् । गत आइतबारदेखि कश्मीर उपत्यका पूर्ण रूपमा बन्दको अवस्थामा रहेको छ ।

भारत सरकारले सञ्चारका सबै माध्यम बन्द गरिदिएको छ । सोमबार संसदमा जम्मु कश्मीरको विशेष दर्जा खारेज गरेको घोषणा गर्नुपूर्व सरकारले सो क्षेत्रमा दशौं हजार सुरक्षाकर्मी परिचालन गरेको थियो । साथै त्यहाँका दुई पूर्वमुख्यमन्त्रीलाई नजरबन्द गरेको थियो । उनीहरुलाई अहिले पनि नजरबन्दकै अवस्थामा राखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भारत प्रशासित कश्मीर सन १९८९ देखि नै निरन्तर अशान्त रहँदै आएको छ ।

निर्णय पुनर्विचार गर्न भारतको आग्रह
कश्मीरलाई दिइँदै आएको विशेष दर्जा खारेज गर्ने भारतीय निर्णयप्रति असन्तुष्टि जनाउँदै पाकिस्तानले नयाँ दिल्लीसँगको दुई पक्षीय व्यापार सम्बन्ध तोड्ने घोषणा गरेको प्रति भारतले त्यस विषयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।
भारतीय विदेश मन्त्रालयले बिहीबार पाकिस्तानको निर्णयप्रति खेद प्रकट गर्दै त्यसमाथि पुनर्विचार गर्न र कूटनीतिक सम्बन्धलाई सामान्य बनाइराख्न आग्रह गरेको हो ।

भारतले गैरकानुनी निर्णय गरेको भन्दै पाकिस्तानले बुधबार नयाँ दिल्लीसँगको कूटनीतिक सम्बन्धलाई सीमित गर्ने निर्णय पनि गरेको थियो ।
यसैबची भारतले जम्मु कश्मीरको विकासका लागि भारतीय संविधानको धारा ३७० खारेज गरेको दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयले भारतको पछिल्लो निर्णय जम्मु कश्मीरमा विकासको अवसर वृद्धि गर्नका लागि भएको जनाएको छ ।

‘सम्झौता एक्सप्रेस’ सधैंका लागि बन्द
कश्मीर संकटकाबीच पाकिस्तानले लाहौरबाट भारतको अटारीसम्म सञ्चालन हुने ‘सम्झौता एक्सप्रेस’ सधैंका लागि बन्द गर्ने घोषणा गरेको छ । पाकिस्तानका रेल मन्त्री शेख रसिद अहमदले यस्तो निर्णय गरेका हुन् । सम्झौता एक्सप्रेस रोक्ने निर्णय गर्नुभन्दा पहिले पाकिस्तानले आफ्नो हवाई क्षेत्र भारतीय विमानका लागि बन्द गरेको थियो । सम्झौता एक्सप्रेस भारत र पाकिस्तानकाबीच सातामा दुई दिन चल्ने रेल सेवा हो ।
 

प्रकाशित: २४ श्रावण २०७६ ०१:२९ शुक्रबार

राष्ट्रसंघ_मानवअधिकार उच्च_आयोग