अन्तर्राष्ट्रिय

इरानद्वारा पुनः विदेशी तेल ट्यांकर नियन्त्रणमा

इरानी नियन्त्रणमा रहेको बेलायती ध्वजावाहक ‘स्टेना इम्पेरो’।

तेहरान – इरानले फेरि एउटा विदेशी ट्यांकर आफ्नो कब्जामा लिएको इरानी सञ्चारमाध्यमले जनाएका छन्। इरान सरकारले सञ्चालन गरेको टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार रेभुल्युसनरी गार्ड कोरको जलसेनाले ‘केही अरब देशका लागि इन्धन तस्करी गरिरहेको एउटा विदेशी ट्यांकर पर्सियन खाडीबाट आफ्नो नियन्त्रणमा लिएको’ उल्लेख गरेको छ। प्राप्त विवरणमा सो ट्यांकरमा सात लाख लिटर इन्धन भएको बताइएको छ।

सन् २०१५ मा गरिएको पारमाणविक सम्झौताबाट भिन्न भएपछि अमेरिकाले इरानमाथि पुनः प्रतिबन्ध लगाएको छ। प्रतिक्रियास्वरुप इरानले पनि सो सम्झौताका कैयौं प्रावधान उल्लंघन गरेको घोषणा गरिसकेको छ।

ट्यांकरका सात चालकलाई पनि इरानी पक्षले आफ्नो नियन्त्रणमा राखेको बिबिसीले उल्लेख गरेको छ। अमेरिकाले इरानविरुद्ध प्रतिबन्ध कस्दै लगेर दुई देशबीच तनाव चर्किएको बेला यो घटना भएको छ। इरानको सेपाह न्युजको वेबसाइटका अनुसार संगठित तस्करीविरुद्ध जलसेनाको गस्तीका क्रममा सो ट्यांकर फेला परेको थियो। इरानले इन्धन तस्करीको आरोपमा ट्यांकर समातेको यो दोस्रो पटक हो।

गत जुलाई १५ मा पनि इरानी सुरक्षाकर्मीले पानामाको ध्वजावाहक ‘एमटी रिया’ नामक जहाज आफ्नो नियन्त्रणमा लिएको थियो। विश्वका ६ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा गरिएको पारमाणविक सम्झौताबाट भिन्न भएपछि अमेरिकाले इरानमाथि पुनः प्रतिबन्ध लगाएको छ। प्रतिक्रियास्वरुप इरानले पनि सो सम्झौताका कैयौं प्रावधान उल्लंघन गरेको घोषणा गरिसकेको छ।

गत महिला इरानले बेलायती ध्वजावाहक ट्यांकर ‘स्टेना इम्पेरो’लाई स्ट्रेट अफ होर्मुजबाट आफ्नो नियन्त्रणमा लिएको थियो। गत मे र जुन महिनामा ओमानको खाडीमा दुईवटा तेलवाहक ट्यांकरमा इरानले आक्रमण गरेको अमेरिकाले आरोप लगाएको छ। तर इरानले अमेरिकी आरोपको खण्डन गर्दै आएको छ।

प्रकाशित: २० श्रावण २०७६ ०१:३५ सोमबार

तेल_ट्यांकर नियन्त्रण कब्जा