अन्तर्राष्ट्रिय

वासिङ्टन र तालिबानबीच वार्ता जारी

कतारको दोहामा तथाकथित ‘इन्ट्रा–अफगान’ वार्तामा सहभागी भएका तालिबान र वरिष्ठ अफगान अधिकारी।

दोहा – संयुक्त राज्य अमेरिका र अफगान विद्रोही समूह तालिबानबीच कतारको दोहामा वार्ता जारी रहेको छ। अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न केही महिनादेखि अमेरिका र तालिबान समूहबीच वार्ता जारी रहेकै बेला आठौं चरणको वार्ताअन्तर्गत शनिबारबाट पुनः वार्ता सुरु भएको छ।

अमेरिकी फौजले सन् २००१ मा अफगानिस्तानको तालिबान सरकार पदच्यूत गरेयता अफगानिस्तानमा भीषण युद्ध भइरहेको छ। शान्ति सम्झौतापछि अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्नो फौज फिर्ता लैजाने तयारी गरिरहेको छ।अमेरिकाले तालिबान समूहले आतंकवादी संगठन अल–कायदा त्याग्नु पर्ने तथा इस्लामिक स्टेटजस्ता आतंकवादी संगठनका सदस्यहरुका लागि तालिबानले संरक्षण गर्न नहुने पूर्वसर्त राखेको छ।

अमेरिकामा सन् २००० मा भएको आक्रमणको मुख्य दोषी अल–कायदाको सञ्जाललाई पक्षपोषण र मद्दत गरेको आरोपमा अमेरिकाले अफगानिस्तानको तालिबान सरकारलाई सैनिक बलमा पदच्यूत गरेको थियो।

अमेरिका र तालिबानबीच शनिबार शुरु भएको यो आठौं चरणको वार्ता हो र स्थानीय समयअनुसार वार्ता दुई दिन चल्नेछ। तालिबानी एक स्रोतले अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद र तालिबानका सहसंस्थापक मुल्लाह बरादरबीच प्रत्यक्ष भेटवार्ता गराउने तयारी भइरहेको बताएको छ। बरादरले तालिबानको राजनीतिक फाँटको नेतृत्व गरिरहेका छन्। अमेरिकामा सन् २००० मा भएको आक्रमणको मुख्य दोषी अल–कायदाको सञ्जाललाई पक्षपोषण र मद्दत गरेको आरोपमा अमेरिकाले अफगानिस्तानको तालिबान सरकारलाई सैनिक बलमा पदच्यूत गरेको थियो। अमेरिकाको ट्विन टावरमा अल–कायदाका लडाकुले विमान अपहरण गरी गरेको आक्रमणमा झण्डै तीन हजारको ज्यान गएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै वार्तामा धेरै प्रगति भएको र वार्ता अझै जारी रहेको बताएका थिए। अमेरिकी विशेषदूत खलिलजादले पनि शुक्रबार नै ट्विट गर्दै तालिबानी समूहसँग शान्ति सम्झौताका लागि प्रयास भइरहेको बताएका थिए। उनले तालिबानसँग तत्कालै अमेरिकी सेना फर्कने बारेमा सम्झौता नहुने पनि स्पष्ट पारे पनि शान्ति सम्झौतापछि भने अमेरिकी सेना फर्कन थाल्ने बताएका थिए।

दोहा वार्ता सुरु हुनुअघि विशेषदूत खलिलजादले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग इस्लामाबादमा भेट गरी छलफल गरेका थिए। अर्कोतर्फ तालिबानसँग वार्ताका लागि अफगान सरकारले पनि अलग्गै वार्ता टोली गठन गरेको छ। अमेरिकी अखबार ‘वासिङ्टन पोस्ट’का अनुसार अमेरिका र तालिबानबीच अफगानिस्तानमा तैनाथ अमेरिकी फौजको संख्या तत्कालै १४ हजारबाट घटाएर ८ हजार बनाइने तयारी भएको छ। यसको बदलामा तालिबानले अल–कायदा संगठनसँगको आबद्धता त्याग्ने, युद्धविराम गर्ने र अफगान सरकारसँग वार्ता थालनी गर्नेछ।

प्रकाशित: २० श्रावण २०७६ ०१:२१ सोमबार

विद्रोही तालिबान वार्ता