अन्तर्राष्ट्रिय

अपदस्थ राष्ट्रपतिको सुनुवाई स-यो

खार्तुम – राजनीतिक संकटमा फसेको सुडानका अपदस्थ राष्ट्रपति ओमर अल बसिरको पहिलो सुनुवाई नै पछाडि सरेको छ। भ्रष्टाचारलगायत उनका विरुद्धमा लागेको आरोपमाथि बुधबार सुनुवाई गर्ने तय भएकोमा पछाडि सारिएको हो।  उनलाई भ्रष्टाचारसँगै विदेशी मुद्राको अपचलन गरेको, गैरकानुनी सम्पत्ति आर्जन गरेकोलगायतका आरोप लगाइएको छ।

‘सुरक्षाका कारणले उनलाई आज अदालत लैजान नसकिएको हो,’ बसिरको सुरक्षा टोलीका प्रमुख अहमद इब्राहिम अल ताहिरले बुधबार पत्रकारहरूसँग भने, ‘बसिरको सुनुवाई आज नभएपछि आगामी अगस्ट १७ तारिखका दिन गर्ने गरी तय भएको छ।’

सुडानमा केही महिनादेखि भएको आन्दोलनको आडमा सेनाले उनलाई अपदस्थ गरेर सत्ता हातमा लिएको छ। सेनाले सत्ता लिए पनि आन्दोलन चर्किदै गएपछि अहिले सेना र नागरिकको सहभागितामा संयुक्त सरकार बनाउने गरी वार्ता तथा छलफल भइरहेका छन्। आन्दोलन गरेका केही समूहले सैन्य शासकसँग सम्झौता गरेर सत्तामा जाने तयारी गरे पनि केही समूहका नेताहरू भने अझै असन्तुष्ट देखिएका छन्। अहिले असन्तुष्ट पक्षलाई पनि समेटेर राजनीतिक संकट न्यूनीकरण गर्दै लैजाने प्रयास भइरहेको समाचारमा जनाइएको छ।

प्रकाशित: १६ श्रावण २०७६ ०१:३३ बिहीबार

सुडान राजनीतिक_संकट ओमर_अल_बसिर