अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा रुसी डुंगा मुक्त

सोल – उत्तर कोरियाले आफ्नो जलक्षेत्रमा जबर्जस्ती प्रवेश गरेको भन्दै नियन्त्रणमा लिएको एउटा माछा मार्ने डुगाछाडिदिएको रुसी अधिकारीहरुले बताएका छन्। प्योङयाङस्थित रुसी राजदूतावासका अनुसार उक्त डुंगामा १५ जना रुसी र दुई जना दक्षिण कोरियाली नागरिक सवार थिए। गत जुलाई १७ मा ‘रसियन नर्थ–इस्टर्न फिसिङ’ कम्पनीको उक्त डुंगा उत्तर कोरियाली सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।

सियाङ हाई लीन आठ नाम दिइएको उक्त डुंगा स्थानीय समयअनुसार शनिबार साँझपख उत्तर कोरियाली बन्दरगाह वोनसानबाट रुसतर्फ प्रस्थान गरेको रुसी राजदूतावासले जनाएको छ।

दक्षिण कोरियाली एकीकरण मन्त्रालयले उक्त डुंगा सुरक्षित रूपमा फर्किएकामा सन्तोष व्यक्त गरेको छ। डुंगा आइतबार अपराह्न दक्षिण कोरियाको सोक्चो आइपुगेको बताइएको छ। उक्त डुंगा दक्षिण कोरियाबाट जापानी समुद्रमा गंगटा मार्दै उत्तरतर्फ गएको थियो। अधिकारीहरुका अनुसार डुंगा उत्तर कोरियाली सीमाबाट करिब सय मिटर टाढा रहेको थियो। रुसी तट रक्षकले पनि काठको डुंगामा बसेर माछा मार्ने उत्तर कोरियालीलाई बारम्बार पक्राउ गर्ने र लामो समय जेलमा राख्ने गरेको छ।

प्रकाशित: १३ श्रावण २०७६ ०२:५८ सोमबार

डुंगा उत्तर_कोरिया