अन्तर्राष्ट्रिय

कास्मिरमा थप १० हजार सैनिक तैनाथ

श्रीनगर – भारत प्रशासित कास्मिरमा थप १० हजार सैनिक तैनाथ गरिएको छ। भारत सरकारले गत साताको अन्त्यरित भारत प्रशासित कास्मिरमा सो संख्यामा भारतीय सैनिक तैनाथ गरेको हो। अकस्मात् हजारौं सैनिक तैनाथ गरिएपछि स्थानीय त्रसित बनेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। अकस्मात् कास्मिरमा सेना बढाइएको बताइ पनि भारतीय अधिकारीले भने सो कदम नियमित तालिकाअनुसार भएको जनाएको छ।

सन् १९४७ मा भारत र पाकिस्तानबीच विभाजन भएपछि भारतले मुसलमान समुदायको बाहुल्यता रहेको हिमाली क्षेत्र कास्मिर क्षेत्रमा करिब पाँच लाख सैनिकलाई सुरक्षार्थ खटाएको छ। कास्मिर क्षेत्रमा पछिल्ला वर्षहरुमा विद्रोहीका गतिविधि बढेको भारतीय बुझाइ छ। त्यसैगरी भारतको सर्वोच्च अदालतले गत वर्ष कास्मिरसम्बन्धी एउटा मुद्दामा सुनुवाई सुरु गरेपछि स्थानीयमा त्रास बढेको छ। आफूहरुमा नीहित विशेषाधिकार गुम्नसक्ने त्रास कास्मिरी जनतामा बढेको एएफपीले उल्लेख गरेको छ।

‘सैनिक दस्ताको तैनाथी गत वर्षदेखि निर्वाचनका लागि खटिएका सैनिक अधिकारीलाई आराम दिन र वार्षिक रूपमा हुने हिन्दू तीर्थयात्रीको सुरक्षाका लागि भएको हो,’ अधिकारीले भनेका छन्। उक्त स्थानमा २० हजार सैनिक तैनाथ गर्ने योजना सरकारको रहेको बताइएको छ।

‘सैनिकहरुले लगातार सात महिनादेखि उक्त क्षेत्रमा निरन्तर काम गरिरहेकोमा केही सैनिक बिदामा घरमा जान चाहनुका साथै केहीलाई तालिममा खटाइएकाले सीमा क्षेत्रमा सुरक्षाको प्रत्याभूत गराइराख्न १० हजार सैनिक अधिकारी तैनाथ गरिएको हो,’ प्रहरी महानिर्देशक दिलबाग सिंहले बताए। ‘नियमित सेवाका लागि उक्त स्थानबाट दुई सय कम्पनी (२० हजार सैनिक) माग भएकाले थप केही जाने तयारी रहेको छ,’ उनले भने, ‘यस क्षेत्रमा सम्भावित विरोध तथा आन्दोलनका कार्यक्रम हुनसक्ने सूचनाका आधारमा थप सैनिकको तैनाथ गरिएको हो।’ थप सैनिक तैनाथीबारे  उनले यसबारेमा विस्तृत विवरण नदिएको एएफपीले उल्लेख गरेको छ।

प्रकाशित: १३ श्रावण २०७६ ०२:५४ सोमबार

सैनिक कास्मिर