अन्तर्राष्ट्रिय

पेरुका पूर्वराष्ट्रपति अमेरिकामा पक्राउ

लिमा– भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन्। पेरुका महान्यायाधिवक्ताको कार्यालयले पेरुको अनुरोधमा टोलेडो अमेरिकामा पक्राउ परेको जनाएको छ।

महान्यायाधिवक्ताले पूर्व राष्ट्रपति टोलेडोलाई स्वदेश फर्काउन अमेरिकी अधिकारीहरुसँग वार्ता भइरहेको बताएको छ। टोलेडो सन् २०१७ देखि संयुक्तराज्य अमेरिकामा बस्दै आएका छन्।

टोलेडोमाथि ब्राजिली विशाल निर्माण कम्पनी ओडेब्रेक्टसँग पेरु र ब्राजिल जोड्ने राजमार्ग निर्माणको ठेक्का दिँदा घुस लिएको तथा अरु विभिन्न अपराधमा संलग्न रहेको आरोप छ।

उनकी पत्नी एलियान कार्पविरुद्ध पनि मुद्दा दायर गरिएको छ। टोलेडोको सुपुर्दगीका लागि एकदेखि डेढ वर्ष लाग्ने बताइएको छ। सिन्ह्वा

प्रकाशित: १ श्रावण २०७६ ०९:२३ बुधबार

पेरु अमेरिका पूर्वराष्ट्रपति पक्राउ