अन्तर्राष्ट्रिय

आणविक प्रतिबद्धताबाट इरान विस्तारैे पछि हट्नुपर्छ : खामेनी

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी।

तेहरान – इरानले सन् २०१५ मा अमेरिकासहित विश्व ६ शक्ति राष्ट्रसँग भएको आणविक सम्झौतामा गरिएका प्रतिबद्धतालाई क्रमशः छोड्दै जाने इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले मंगलबार बताएका छन्। खामेनीले युरोपेली मुलुकहरूका नेतालाई संकेत गर्दै भने, ‘तपाईहरूले आफूले गरेका एउटै पनि वाचा पूरा गर्न नसक्ने अनि किन हामीबाट सम्झौताका प्रतिबद्धता पालना होउन् भनी चाहना राख्नुहुन्छ ?’

युरोपेली संघ तथा सम्झौतामा हस्ताक्षर गरेका अन्य मुलुकले इरानलाई सम्झौताबाट फिर्ता नहुन गरिरहेको आग्रहकै बीच खामेनीको पछिल्लो प्रतिक्रिया आएको हो।

सन् २०१५ को आणविक सम्झौतामा युरोपेली संघले पनि हस्ताक्षर गरेको थियो। उक्त सम्झौतामा अमेरिका, बेलायत, चीन, रुस, फ्रान्स, जर्मनी र इयूले हस्ताक्षर गरेका थिए। हस्ताक्षरमा इरानले आणविक हतियार भण्डारणलाई घटाउने र यसको बदलामा उसमाथि लागेका आर्थिक प्रतिबन्धलाई हटाउने सहमति भएको थियो। गत बर्ष वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताले अमेरिकालाई लाभ नगरेको र सो सम्झौता पर्याप्त नभएको भन्दै इरानसँग पुनः सम्झौता गर्नुपर्ने अडान राख्दै आणविक सम्झौताबाट पछि हट्ने घोषणा गरेका थिए। एकतर्फी रूपमा सम्झौताबाट बाहिरिने घोषणा गरेको अमेरिकाले इरानलाई थप प्रतिबन्ध लगाएको छ। नयाँ सम्झौता गर्न दवाब दिने उद्देश्यले अमेरिकी ट्रम्प प्रशासनको तेहरानमाथि नयाँ प्रतिबन्ध लगाएको बताउँदै आएको छ।
इरानले पनि बिस्तारै अमेरिकी घोषणाप्रति प्रतिक्रिया दिँदै सम्झौतामा गरिएका प्रतिबद्धता एकतर्फी रूपमा लागु गर्न इरान बाध्य नहुने बताएको छ।

युरोपेली संघ तथा सम्झौतामा हस्ताक्षर गरेका अन्य मुलुकले इरानलाई आणविका सम्झौताबाट फिर्ता नहुन गरिरहेको आग्रहकै बीच खामेनीको पछिल्लो प्रतिक्रिया आएको हो। खामेनीले तेहरानस्थित एक टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण भएको सम्बोधनमा भने, ‘हामीले हाम्रा प्रतिबद्धतालाई घटाउन थालिसकेका छौं र यो प्रक्रियाले पक्कै पनि निरन्तरता पाउने छ।’ पछिल्लो केही समययता अमेरिका र इरानबीच कूटनीतिक रूपमा तनावको स्थिति देखिएको छ। इरानबाट मध्यपूर्वमा रहेका आफ्ना साझेदार राष्ट्रलाई सुरक्षा चुनौती रहेको भन्दै अमेरिकाले खाडी क्षेत्रमा अत्याधुनिक हतियारसहितको सैन्य उपस्थितिलाई बलियो बनाएको छ भने इरानले पनि अमेरिकी कदमसँग लड्न आफू तयार रहेको बताउँदै आएको छ।

पछिल्ला समय खाडी क्षेत्रमा अमेरिकी र बेलायती तेल ट्यांकरमा आक्रमणका प्रयास भइरहेको भन्दै अमेरिकाले इरानमाथि शंका व्यक्त गरिरहेको छ। यद्यपि यी दुई राष्ट्रका उच्चाधिकारीहरुले बेलाबखत वार्ताको माध्यमबाट समस्या समाधान गर्न तयार रहेको बताउँदै आएका छन्। सोमबार मात्रै पनि इरानी राष्ट्रपति हसन रौहानीले आफ्नो देशमाथि लगाइएको प्रतिबन्ध हटे अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएका थिए।

प्रकाशित: १ श्रावण २०७६ ०४:२९ बुधबार

अमेरिका आणविक