अन्तर्राष्ट्रिय

लिबियाको पश्चिमी किनाराबाट ५३ आप्रवासीको उद्धार

त्रिपोली– लिबियाली तटीय रक्षकहरुले शनिबार राजधानी त्रिपोलीबाट करिब ६० किलोमिटर पश्चिमको सब्राथा तटीय जलक्षेत्रबाट ५३ जना अवैध आप्रवासीलाई उद्धार गरेको छ।

लिबियाली तटीय रक्षकका अनुसार सब्राथा जलक्षेत्रका रबरको डुङ्गामा सवार उनीहरुलाई उद्धार गरिएको छ। अफ्रिकाका विभिन्न मुलुकका ती आप्रवासीमा १० जना महिला र एक बालक पनि रहेका छन्।

तटीय रक्षकका तर्फबाट जारी विज्ञप्तिमा उद्धार गरिएका आप्रवासीलाई मानवीय र स्वास्थ्य सेवा उपलब्ध गराइएको उल्लेख छ। राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसीआर) ले समुद्रबाट उद्धार गरिएको आप्रवासीलाई लिबियामा बन्दी नबनाउन आग्रह गरेको छ।

युरोप प्रवेश गर्न चाहने अफ्रिकी र एसियाली आप्रवासीहरु लिबियाको जलक्षेत्र हुँदै असुरक्षित तरिकाबाट डुङ्गाबाट यात्रा गर्ने गर्दछन्। पछिल्लो समय लिबियामा चर्किएको सशस्त्र हिंसाका कारण आप्रवासीको समेत हत्या हुन थालेको छ। सिन्ह्वा

प्रकाशित: २९ असार २०७६ ०७:५० आइतबार

लिबिया आप्रवासी