अन्तर्राष्ट्रिय

लिबियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह

त्रिपोली– संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियामा तत्काल युद्ध विराम गर्न आग्रह गरेको छ। तीन महिनामै एक हजार भन्दा बढीको मृत्यु भएको जनाउदै सुरक्षा परिषद्ले युद्ध विराम गर्न शुक्रबार आह्वान गरेको हो।

राजधानी त्रिपोलीनजिकै रहेको ताजौरामा गत मङ्गलबार भएको आक्रमणको घटनाप्रति पनि परिषद्ले निन्दा गरेको छ। सो आक्रमणमा परी मृत्यु हुनेको संख्या ५३ भन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। ती मध्ये छ जना बालबालिका रहेका छन्। घटनामा परी घाइते हुनेहरुको संख्या १३० रहेको पनि डब्लुएचओका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

त्यसैगरी अन्तर्राष्ट्रिय आप्रवासन संगठनका प्रवक्ता जोएल मिल्मानले घटनामा परी विभिन्न १७ देशका नागरिक मारिएको बताए। राजधानी त्रिपोलीको पूर्वी तजौरामा रहेको आप्रवासीहरु बस्ने ठाउँमा भएकोे हवाई आक्रमणलाई विभिन्न देश र अन्तर्राष्ट्रिय संघ संगठनहरुले विरोध जनाएका थिए।

युरोप जानका लागि लिबियालाई बाटो बनाएकाहरु बसेको ठाउँमा आक्रमण भएको हो। लिबियामा पछिल्लो तीन महिनामा भएका विभिन्न आक्रमणका घटनामा परी पाँच सय भन्दा बढी घाइते भएका पनि डब्लुएचओले जनाएको छ। त्यसैगरी आक्रमणमा परेका वा त्यसबाट त्रसित भएका झण्डै एक लाख स्थानीय बासिन्दा आफ्नो घर छोडेर विस्थापित भएका छन्।रासस

प्रकाशित: २१ असार २०७६ ०८:१७ शनिबार

सुरक्षा_परिषद् युद्ध_विराम लिबिया