अन्तर्राष्ट्रिय

ढाका हमलाको स्मरण

बंगलादेश - बङ्गलादेशको राजधानी ढाकास्थित एक रेस्टुरेण्टमा भएको आक्रमणको सोमबार तीन वर्ष पुगेको छ। आक्रमणको तीन वर्ष पुगेको दिन ढाकास्थित उक्त स्थानमा सोमबार एक श्रद्धाञ्जली सभा गरेर घटनामा मारिएका निर्दोष व्यक्तिहरूको सम्झना गरिएको छ।

सोमबार बिहानै बंलादेशका सरकारी अधिकारी, राजनीतिक नेता, विदेशी कुटनीतिक अधिकारीलगायत घटनास्थल पुगेर मृतकका तस्वीरमा फूलमाला चढाई उनीहरूको आत्माको चीरशान्तिका लागि प्रार्थना गरेका छन्। सन् २०१६ को जुलाई १ का दिन पाँच जना बन्दुकधारीको एक समूहले रेस्टुरेन्टका सेवाग्राही तथा कर्मचारीलाई बन्धक बनाएपछि बङ्गलादेशी सुरक्षाकर्मीले बन्धकलाई रिहा गर्ने क्रममा २९ जनाको मृत्यु भएको थियो।

मृतक बन्धकमध्ये १७ जना विदेशी नागरिक थिए भने अन्य चारमा दुई जना स्थानीय सेवाग्राही र दुई जना क्याफेका कर्मचारी रहेका थिए। घटनामा दुई प्रहरीले ज्यान गुमाएका थिए भने आक्रमणकारी पाँच बन्दूकधारीको पनि प्रहरी कारबाहीमा मृत्यु भएको थियो।

घटनाको इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको थियो तर बङ्गलादेशी अधिकारीले उक्त दाबीलाई अस्वीकार गर्दै घटनामा जमातुल मुजाहिद्दिन बङ्गलादेश (जेएमबी), स्थानीय एक प्रतिबन्धित समूहको संलग्नता रहेको र आफ्नो प्रभाव देखाउन आक्रमण गरेको जनाएका थिए। क्याफेमा भएको उक्त आक्रमणपछि बङ्गलादेशको प्रहरीले उक्त समूहलाई लक्षित गरी चलाएको बृहत् सुरक्षा कारबाहीमा दर्जर्नौं लडाकू मारिएका छन् भने सयौँलाई जेल चलान गरिएको छ।

प्रकाशित: १७ असार २०७६ ०२:३२ मंगलबार

बङ्गलादेश ढाका_हमला आक्रमण