अन्तर्राष्ट्रिय

बंगलादेशमा ६२ अर्ब अमेरिकी डलरको बजेट

ढाका – बंगलादेशको संसद्ले आर्थिक वर्ष २०१९÷०२० का लागि अहिलेसम्मकै उच्च पाँच ट्रिलियन टाका ( झण्डै ६२ अर्ब अमेरिकी डलर) को बजेट अनुमोदन गरेको छ।

मुलुकको आर्थिक वृद्धि दरलाई ८.२ प्रतिशत पु-याउने लक्ष्य लिएको सरकारले अर्थमन्त्री एएचएम मुस्तफा कमलद्वारा जारी वार्षिक बजेट कार्यक्रमलाई आइतबार संसद्मा अनुमोदनका लागि प्रस्तुत गरेको थियो। प्रधानमन्त्री शेख हसिनाको सत्ताधारी दल बंगलादेश अवामी लिग (एएल) पार्टीको सरकारले आर्थिक वृद्धिका लागि महत्वाकांक्षी योजनासहित बजेटको घोषणा यस पहिले नै गरेको थियो।

संसद्मा प्रस्तुत बजेट कार्यक्रमलाई यस आर्थिक वर्षको अन्तिम संसद् अधिवेशनको अन्तिम दिन ध्वनी मतका आधारमा सर्वसम्मतिका साथ  अनुमोदन गरिएको हो। सन् २०१९/०२० का लागि  बंगलादेशको कूल बजेट ६२ अर्ब अमेरिकी डलर हुनेछ, जुन यहाँको कूल गार्हस्थ उत्पादनको १८.१ प्रतिशत रहेको छ। सरकारले यस वर्ष १३ प्रतिशत बजेट वृद्धि गरेको हो।

खर्चतर्फ वार्षिक विकास कार्यक्रमका मानव साधनस्रोत, विद्युत् तथा इन्धन र सूचना सञ्चार क्षेत्रमा सबैभन्दा बढी अर्थात २.०२ ट्रिलियन टाका बराबरको बजेट छुट्टाइएको छ। नयाँ वर्षमा बंगलादेशको बजेट घाटा करिब १.४३ ट्रिलियन रहनेछ, जुन कूल गार्हस्थ उत्पादनको पाँच प्रतिशत हो।

प्रकाशित: १६ असार २०७६ ०१:४० सोमबार

बजेट आर्थिक_वर्ष