अन्तर्राष्ट्रिय

‘फेसबुकमा अरुले गरेको कमेन्टका लागि सञ्चारमाध्यम जबाफदेही’

सिड्नी – कुनै पनि सञ्चारमाध्यमको आधिकारिक सार्वजनिक फेसबुक पेजमा तेस्रो पक्षले गर्ने मानहानीयुक्त कमेन्टका लागि सोही सञ्चारगृह उत्तरदायी हुनुपर्ने फैसला अस्ट्रेलियाको न्यु साउथ वेल्सको सर्वोच्च अदालतले गरेको छ।

उत्तरी सिमानामा पक्राउ परेका पूर्वथुनुवा डाइलान भोल्लरले तीनवटा सञ्चारगृहमाथि मुद्दा दायर गरेका थिए। ‘द सिड्नी मर्निङ हेराल्ड,’ ‘द अस्ट्रिलियन,’ ‘द सेन्ट्रल एड्भोकेट,’ स्काई न्युज अस्ट्रेलिया’ र ‘द बोल्ट रिपोर्ट’ का फेसबुक पेजमा गरिएका पोस्टमा उनीमाथि गरिएका शृंखलाबद्ध कमेन्टले आफ्नो मानहानी भएको भन्दै भोल्लरले दायर गरेको मुद्दामा सुनुवाई गर्दै अदालतले यस्तो फैसला गरेको बताइएको छ।

सन् २०१६ र २०१७ मा प्रकाशित गरिएका १० वटा फेसबुक पोस्टका कमेन्टले शृंखलाबद्ध रूपमा झुटा र मानहानीयुक्त आरोप लगाएको भोल्लरले बताएका छन्। आफूलाई पक्राउ गर्न आएका सालभेसन सैनिक अधिकारीमाथि आक्रमण गरेर उसको एउटा आँखा फुटाइदिएको भन्ने आरोपसहितका अन्य कमेन्ट फेसबुक पेजमा आएको उनको भनाइ छ।

भोल्लरले आफूविरुद्ध फेसबुक पेजमा आएका कमेन्टलाई हटाउन सञ्चारमाध्यमलाई आग्रह नगरी सर्वोच्च अदालतमा मानहानीको मुद्दा दायर गरेका थिए। उनले ती सञ्चारमाध्यमले तेस्रो पक्षको कमेन्ट प्रकाशन गरेको दाबी गर्दै मुद्दा दायर गरेका थिए।

भोल्लरले कमेन्ट प्रकाशन गरिएको भन्ने विषयलाई प्रमाणित गरेकाले ती सञ्चारगृहलाई सुनुवाईका लागि उनले गरेको खर्च तिर्न आदेश पनि गत सोमबार भएको प्रारम्भिक फैसलामा न्यायाधीश स्टेफन रोथम्यानले दिएका छन्।

फेसबुक पेजमा आएका कमेन्ट मानहानी गर्ने खालकै थिए वा थिएनन् भन्ने विषयलगायत मुद्दामा रहेका अन्य विषयमाथि अदालतले निर्णय गर्न बाँकी नै रहेको बताइएको छ।

‘तेस्रो पक्षले गरेको गल्तीमा प्रकाशकलाई मानहानीका लागि जिम्मेवार करार गर्नु ‘कमन ल प्रणाली’मा विश्वमा अहिलेसम्म नभएको निर्णयभन्दा फरक हो,’ युनिभर्सिटी अफ सिड्नीका मानहानी कानुनका विज्ञ प्राध्यापक डेभिड रोल्फले बताएका छन्।

फैसलाले अन्य अंग्रेजी बोल्ने प्रजातन्त्रभन्दा अस्ट्रेलियाको मानहानी कानुन कति फरक छ भन्ने देखाएको बताउँदै न्युज कर्प अस्ट्रेलियाका प्रवक्ताले भने, ‘तत्काल मानहानी कानुनमा परिवर्तन आवश्यक छ।’

‘सामाजिक सञ्जालका पेजमा अन्य व्यक्तिले गरेका कमेन्टका कारण सञ्चारगृहलाई उत्तरदायी बनाउने फैसलाले अनाहकमा जोरी खोजेको छ। सञ्चारगृहलाई जिम्मेवार बनाउन खोज्नु अति नै खेदजनक छ। उसको प्लेटफर्ममा कमेन्टलाई अफ गर्नका लागि कुनै पनि विकल्प नदिने फेसबुकले चाहिं कुनै जिम्मेवारी बहन गर्नु नपर्ने भन्ने विषय पनि आपत्तिजनक छ,’ न्युज कर्प अस्ट्रेलियाका प्रवक्ताले भने, ‘यस फैसलालाई लिएर न्युज कर्प अस्ट्रेलियाले अति नै ध्यानपूर्वक हेरिरहेको छ र यसमाथि पुनरावेदन गर्ने सोच बनाएको छ।’

प्रकाशित: १३ असार २०७६ ०४:०६ शुक्रबार

सञ्चारमाध्यम कमेन्ट अस्ट्रेलिया फेसबुक_पेज