अन्तर्राष्ट्रिय

‘भ्रटाचारविरुद्ध सामूहिक अभियान’

कायरो – इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अफ्रिकी मुलुकका सरकारलाई भ्रष्टाचारविरुद्ध सामूहिक रूपमा अभियान सञ्चालन गर्न आग्रह गरेका छन्।

उनले अफ्रिकी मुलुकका अर्थतन्त्र ओरालो लाग्नुमा मुख्यतः भ्रष्टाचार नै जिम्मेवार रहेको पनि बताएका छन् । इजिप्टको पर्यटकीय सहर सार्म अल–सेखमा आयोजित दुई दिने अफ्रिकी भ्रष्टाचार विरोधी मञ्च (एएसिएफ) को बैठकमा सम्बोधन गर्दै राष्ट्रपति सिसीले यस्तो धारणा राखेका हुन्।

उनले भ्रष्टाचारविरुद्ध लड्न राजनीतिक, व्यवस्थापिका, कानुनी र नियामक क्षेत्रमा आमूल सुधारको आवश्यकसमेत औंल्याएका छन्।राष्ट्रपति सिसीले इजिप्टमा भ्रष्टाचारविरुद्ध लड्न हालैका वर्षमा धेरै उपाय अपनाइएको जिकिरसमेत गरेका छन्।उनले भ्रष्टाचार हुनुको कारण पत्ता लगाउन इजिप्टमा अनुसन्धान, अध्ययन र मतसर्वेक्षण गरिएको जानकारी पनि सम्बोधनका क्रममा दिएका छन्।अफ्रिकी युनियनको अध्यक्षता हाल इजिप्टले गरिरहेको छ।

इजिप्टका राष्ट्रपति सिसीले भ्रष्टाचारविरुद्ध लड्न अफ्रिकाका मुख्य साझेदारहरुबीच गहिरो अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेकामा जोड पनि दिएका छन् ।‘हाम्रो दृढ विश्वास के छ भने भ्रष्टाचारविरुद्ध लड्न र हाम्रो महादेशको अवस्थामा परिवर्तन ल्याउन साझा प्रयत्न, सामूहिक दृष्टिकोण र अफ्रिकी संयन्त्रको समन्वयात्मक प्रयत्नको बढावा नै मुख्य पक्ष हो ।’

प्रकाशित: ३१ जेष्ठ २०७६ ०१:५७ शुक्रबार

अब्देल–फताह_अल–सिसी भ्रटाचार अभियान