अन्तर्राष्ट्रिय

पश्चिम बंगलामा भाजपा र तृणमूलबीच झडप, गोली हानी हत्या

नयाँ दिल्ली – भारतको पश्चिम बंगाल राज्यको उत्तर २४ परगना जिल्लामा पर्ने नाजट क्षेत्रमा शनिबार राति भारतीय जनता पार्टी (भाजपा) र तृणमूल कंग्रेस (टिएमसी) कार्यकर्ताबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ। झडपमा परी केन्द्रीय सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा) समर्थक तीन जना र पश्चिम बंगालको नेतृत्व गरिरहेको तृणमूल कंग्रेस पार्टीका एक जना गरी चार जना मारिएको बताइएको छ।

पश्चिम बंगालमा भएको सो घटनामा परी अन्य १८ जना घाइते पनि भएको प्रहरी अधिकारीले आइतबार जानकारी दिएका छन्। जसमध्ये तीन जना गम्भीर घाइते भएका छन्। दुबै पार्टी निकट स्रोतहरुले झडपमा परी चार जनाको मृत्यु भएको र तीन जना गम्भीर घाइते भएका दाबी गरेका छन्। भाजपाका स्थानीय नेता मुकुल रोयले ट्विट गर्दै आफ्ना तीन कार्यकर्ताको गोली हानी हत्या भएको उल्लेख गरेका छन्।

एउटा भवनमा रहेको भाजपाको ‘कमल’ चिह्नसहितको झण्डा तृणमूलको कार्यकर्ताले निकालिदिएपछि झडप भएको भाजपाले आरोप लगाएको छ।

विपक्षी समर्थकसँग बेला बेलामा भाजपाका कार्यकर्ताको झडप भइरहने यस प्रदेशमा हालै भएको लोकसभा निर्वाचनमा भाजपाले १८ स्थान जितेको थियो। भाजपाले सन् २०१४ मा भएको निर्वाचनमा दुई स्थान मात्र जितेको थियो। यस पटकको लोकसभा निर्वाचनमा भाजपाले देशभरी तीन सय तीन स्थानमा जित हासिल गरेको छ। यसअघि सन् २०१४ को निर्वाचनमा भने दुई सय ८२ स्थानमा भाजपा विजयी भएको थियो। भाजपाको तर्फबाट अहिले पार्टीका नेता नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका छन्।

त्यसैगरी तृणमूल कंग्रेस पार्टी पनि पश्चिम बंगालमा शक्तिशाली मानिन्छ। सो पार्टीकी नेत्री ममता बनर्जीको प्रभाव धेरै रहेको छ। हाल उनी पश्चिम बंगालकी मुख्यमन्त्रीसमेत हुन्। भाजपाको झण्डा र पोस्टर राख्ने क्रममा पछिल्लो झडप भएको पार्टीका प्रदेश महासचिव सायन्तन बसुले जानकारी दिएका छन्। भाजपाको झण्डा र पोस्टर टाँस्ने क्रममा तृणमूल कार्यकर्ताले अवरोध गरेको र आफ्ना कार्यकर्तालाई गोली हानेर हत्या गरेको दाबी उनले गरेका छन्।

एउटा भवनमा रहेको भाजपाको ‘कमल’ चिह्नसहितको झण्डा तृणमूलको कार्यकर्ताले निकालिदिएपछि झडप भएको भाजपाले आरोप लगाएको छ। तृणमूल पार्टीका प्रदेशमन्त्री ज्यातिप्रियो मलिकले भने भाजपाका कार्यकर्ताले आफ्ना एक कार्यकर्ताको हत्या गरेको आरोप लगाएका छन्। ‘पार्टीको बैठकका लागि जाँदै गरेको बेला हाम्रा एक कार्यकर्तालाई भाजपाका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए, त्यसपछि भाग्न खोज्दा गोली प्रहार गरेर उनको हत्या गरियो,’ मलिकलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

यसैबीच झडपमा मारिएका आफ्ना कार्यकर्ताको शव पार्टी कार्यालयमा लान खोजेपछि सुरक्षा फौजले भाजपा नेताहरुलाई रोकेपछि राज्य सरकारविरुद्ध उनीहरुले प्रदर्शन गरेका छन्। आफ्ना कार्यकर्ताको शव लान रोकेपछि उनीहरुले पश्चिम बंगाल सरकारविरुद्ध चर्का नारासमेत लगाएको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ। ‘प्रहरीले हत्या रोक्न पनि नसक्ने र अहिले अन्तिम संस्कारका लागि शव लान पनि नदिएको बारे मैले राज्यका गभर्नर केशरी नाथ त्रिपाठीसँग कुराकानी गरेको छु। उनले यसबारे सरकारका वरिष्ठ अधिकारीसँग कुरा गर्नेबारे मलाई आश्वस्त पारेका छन्,’ भाजपाका महासचिव राहुल सिन्हाले बताए।

प्रकाशित: २७ जेष्ठ २०७६ ०२:२४ सोमबार

पश्चिम_बंगाल भाजपा भडप