अन्तर्राष्ट्रिय

विश्व युद्धका सहयोगीबीचको सम्बन्ध ‘अटूट’

पेरिस – अमेरिका र आफ्ना दोस्रो विश्वयुद्धदेखिका सहयात्रीबीचको सम्बन्ध ‘अटूट’ रहने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

पश्चिम युरोपलाई जर्मन नाजी समूहबाट स्वतन्त्र गर्ने प्रयासमा फ्रान्स, बेलायत, क्यानडा र अमेरिकालगायतका राष्ट्रहरुको गठबन्धन भएको दिनको सम्झनामा बिहीबार आयोजित ७५ औं ‘डी–डे’ का अवसरमा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले वासिङ्टन र यसका दोस्रो विश्व युद्धका सहयोगीबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। ‘विश्व युद्धको उत्कर्षका बेला बनेको हाम्रा सबै मित्र तथा साझेदारबीचको सहकार्य युद्धका समयमा परीक्षण भइसकेको छ, जुन विश्व शान्तिका लागि आशिर्वाद बनेको थियो,’  उनले भने, ‘हाम्रो सहकार्य अटूट छ।’

सो कार्यक्रममा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले खुला विश्वका लागि सहकार्य जरुरी रहेको भन्दै यसका लागि सम्बन्धित सबैले आ–आफ्नो ठाउँबाट सोच्नुपर्नेमा जोड दिए। ‘हामीले खुला विश्वका लागि सहकार्यलाई निरन्तरता दिनुपर्छ,’ म्याक्रोंले बताए।
ट्रम्पले निरन्तर रूपमा आलोचना गर्दै आएका विश्वमा प्रभावकारी भूमिका खेल्दै आएका बहुपक्षीय अन्तर्राष्ट्रिय सङ््गठन, संयुक्त राष्ट्रसंघ, उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) तथा युरोपेली संघ (इयू) को उदाहरण प्रस्तुत गर्दै म्याक्रोंले भने, ‘जुन उद्देश्यबाट यी संगठनको निर्माण भएको थियो त्यसका लागि उनीहरूलाई क्रियाशील पार्न जरुरी छ।’

समारोहलाई एक भव्य राजनीतिक प्रतीक, एकता प्रदर्शनका अवसरका रूपमा हेरिएको छ किनकी पछिल्लो समय अमेरिका र युरोप यसमा पनि खासगरी ट्रम्प र म्याक्रोंबीच विविध विषयमा वैचारिक भिन्नता देखिएको छ।

 

प्रकाशित: २४ जेष्ठ २०७६ ०३:२२ शुक्रबार

विश्व_युद्ध सम्बन्ध