अन्तर्राष्ट्रिय

भारतको तापक्रम ५० डिग्री

नयाँ दिल्ली – भारतको सुख्खा क्षेत्रमा पर्ने सहरको तापक्रम ५० डिग्री सेल्सियस पुगेको छ।पछिल्लो तीन दिनमा तापक्रम दोस्रो पटक यति धेरै बढेको सरकारी अधिकारीले जानकारी दिएका छन्।

देशको राजस्थान प्रदेशमा पर्ने चुरुको तापक्रम ५०.३ डिग्री सेल्सीयस पुगेको समाचारमा जनाइएको छ। यसअघि गत शनिबार ५०.६ डिग्री सेल्सीयस पुगेको थियो। यो देशकै सबैभन्दा उच्च तापक्रमको नजिक पुगेको हो। भारतमा सन् २०१६ को मे महिनामा सर्वाधिक तापक्रम ५१ डिग्री सेल्सियस मापन गरिएको अधिकारीहरुले जनाएका छन्। त्यतिबेला सर्वाधिक तापक्रम राजस्थानको फलोडी सहरमा मापन गरिएको हो।

अत्याधिक तापक्रमका कारण गत आइतबार राजस्थानकै सिकर जिल्लामा एक जना किसानको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ। अरूको पनि मृत्यु भएको दाबी गरिएको छ।

भारतीय मौसम विभागले राजस्थान र मध्य प्रदेशमा धेरै दिनदेखि तापक्रम उच्च हुँदै आएको र यो अझै लगातार हुने जनाएको छ। नजिकैको नयाँ दिल्ली र उत्तर प्रदेशमा समेत उच्च तापक्रमको प्रभाव पर्ने देखिएको अधिकारीहरुको भनाइ छ। नयाँ दिल्लीमा सोमबार झण्डै ४० डिग्री तापक्रम महसुस गरिएको छ।
‘यो साँच्चै अति उच्च तापक्रम हो, तर हामीले के गर्न सक्छौं र ? आफ्नो काम गरिरहनु पर्छ,’ एक स्थानीय लक्ष्मी जगदीशले बताए।

 

प्रकाशित: २१ जेष्ठ २०७६ ०२:३६ मंगलबार

तापक्रम डिग्री सुख्खा_क्षेत्र