अन्तर्राष्ट्रिय

कार बम विस्फोटमा १९ को मृत्यु

आजाज – विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिमी सहरमा भएको कार बम विस्फोटमा परी आइतबार कम्तीमा १९ व्यक्तिको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेका मानवअधिकार समूहले जानकारी दिएका छन्।

आजाजमा भएको विस्फोटमा परी चार बालबालिकाको पनि मृत्यु भएको बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ।
आक्रमणमा परी २० जनाभन्दा बढी घाइते भएका अधिकारवादी समूहले जानकारी गराएका छन्।

‘विस्फोट हुँदा कैयौं इस्लाम धर्मावलम्बी साँझको प्रार्थनाबाट बाहिरिँदै गरेका थिए,’ उक्त मानव अधिकारवादी समूहका प्रमुख रमी अब्दुल रहमानले बताए।
मारिनेमा आउँदै गरेको इद–उल–फितरको बिदाका अवसरमा लुगाफाटो तथा उपहार किन्न बजार गएका व्यक्ति पनि रहेको बताइएको छ।

 

प्रकाशित: २१ जेष्ठ २०७६ ०२:३१ मंगलबार

विद्रोही सिरिया बम विस्फोट