अन्तर्राष्ट्रिय

सिरियामा इजरायली आक्रमण, दश जना मारिए

बेरुत– इजरायलले सिरियामा आइतबार छिमेकी मुलुक सिरियामा गरेको हवाई आक्रमणमा दश जनाको मृत्यु भएको छ। इजरायली सेनाका अनुसार मारिएकाहरुमा सिरियाली सेना र विदेशी लडाकूहरु रहेका छन्।

सिरियाबाट इजरायली अधीनस्थ गोलान हाइट्सको माउन्ट हर्मनमा रकेट आक्रमण गरेपछि इजरायलले हवाई आक्रमण गरेको इजरायली सेनाले जनाएको छ।

सेनाले जारी गरेको विज्ञप्तिमा इजरायलले सिरियाका दुईवटा सैनिक अखाडा, गुप्तचर पोस्ट र एसए–२ हवाई प्रतिरक्षा अखाडामा आक्रमण गरिएको उल्लेख छ।

बेलायतस्थित एक युद्ध अनुगमनकर्ता निकायका अनुसार सिरियाको राजधानी दमास्कस नजिक हवाई आक्रमण गरिएको र त्यहाँ सिरियाली सैनिक, इरानी सैन्य तथा हेजबुल्लाह लडाकूहरु रहेका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफूले हवाई आक्रमण गर्न आदेश दिएको बताए। उनले आफ्नो भूमिभित्र कसैले आक्रमण गरे त्यो सह्य हुन नसक्ने बताउँदै इजरायलभित्र कसैले आक्रमण गरे त्यसको डटेर प्रत्याक्रमण गर्ने स्पष्ट गरे।

इजरायलले सिरियामा सयौं हवाई आक्रमण गरेको थियो। यी आक्रमणहरु मुख्यतः सिरियामा रहेका इरानी र हेज्बुल्लाह लडाकू विरुद्ध केन्द्रित छन्। एएफपी

प्रकाशित: १९ जेष्ठ २०७६ ११:२३ आइतबार

सिरिया इजरायल आक्रमण