अन्तर्राष्ट्रिय

श्रीलंकामा शंकास्पद बैंक खातामा अवैध रकम

कोलम्बो– श्रीलंकामा पाँच जना शंकास्पद आतंककारीका बैंक खातामा एक अर्ब भारतीय रुपैयाँ भेटिएको एकजना वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।

ती व्यक्ति श्रीलंकामा सक्रिय इस्लामिक चरमपन्थी संगठन नेसनल थहिद जमाथ (एनटिजे)सँग आवद्ध रहेको एक दिनअघि मात्र थाहा भएको श्रीलंकाली अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

एनटिजेसँग आवद्ध रहेको आशंकामा शुक्रबार ती पाँचै जनालाई होरोपाथानामा पक्राउ गरिएको थियो। सञ्चारमाध्यम डेली मिररका अनुसार श्रीलंकामा भएको पछिल्लो बम आक्रमणमा संलग्न जाहरान हासिमलाई पनि गिरफ्तार गरिएको छ। पक्राउ परेकामा एक जना होरोपथाना डिभिजनल सेक्रेटरिएटमा कार्यरत विकास अधिकृत, एक जना सरकारी विद्यालयका शिक्षक, दुई जना किविलेकाडास्थित अरेबिक कलेजका शिक्षक तथा एक जना केबिथिगोल्लेवाका रहेका छन्।

पक्राउ परेका व्यक्तिले अनुराधापुरा र ट्रिन्कोमालीमा चरमपन्थी प्रशिक्षण दिएका थिए। प्रहरीका अनुसार उनीहरुले दुई वर्षअघि होरोपाथानाको जंगलमा शस्त्र चलाउनेसम्बन्धी तालिम पनि लिएका थिए।

गत अप्रिल २१ मा श्रीलंकाका गिर्जाघर र होटलमा भएका बम आक्रमणमा दुई सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। सो आत्मघाती आक्रमणको जिम्मेवारी अन्तर्राष्ट्रिय आतंकवादी समूह इस्लामिक स्टेटले लिएको थियो।

प्रकाशित: १३ जेष्ठ २०७६ ०६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App