अन्तर्राष्ट्रिय

प्रधानमन्त्री मेको विधेयक रोकियो

बेलायती प्रधानमन्त्री थेरेसा मे।

लन्डन – युरोपेली संघबाट बाहिरिनेबारे बेलायती प्रधानमन्त्री थेरेसा मेले ल्याउन लागेको ब्रेक्जिट फिर्ता विधेयक जुन महिनाको सुरुवातसम्म प्रकाशन नहुने वा त्यसमा छलफल नहुने सरकारले बताएको छ। ब्रेक्जिटबारे ‘नयाँ सम्झौता’का लागि आग्रह गरिरहेकी प्रधानमन्त्री मेलाई राजीनामा दिन आफ्नै दलका सांसदहरुले दबाब दिइरहेकै बेला उनले ल्याउन लागेको विधेयक आउन ढिलाइ हुने भएको हो।

प्रधानमन्त्री मेले लिएको बे्रक्जिटसम्बन्धी नीतिमाथि असहमति राख्दै उनकै दल कन्जरभेटिभ दलकै नेत्री एन्ड्रिया लिडसमले राजीनामा दिएपछि विधेयक ल्याउन ढिलाइ हुने भएको बताइएको छ। राजीनामा दिएकी एन्ड्रियाको ठाउँमा अर्थमन्त्री मेल स्ट्रिडलाई ल्याइने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यसबाहेक मन्त्रिपरिषद्का कैयौं मन्त्रीहरुले पनि प्रधानमन्त्री मे पदमा बसिरहन नमिल्ने भन्दै उनको राजीनामा माग गरिरहेका छन्। प्रधानमन्त्री मेले आफ्नो दलका सांसदहरुलाई ब्रेक्जिटसम्बन्धी सो विधेयक शुक्रबार प्रकाशित गर्ने बताएकी थिइन्। तर जब लिडसनले बिहीबार पदबाट राजीनामा दिइन्, तब उनको राजीनामालाई समर्थन गर्दै मार्क स्पेन्सरले कन्जरभेटिभ सांसदहरुलाई भने, ‘युरोपेली संघबाट फिर्ता आउनेबारेको सम्झौता विधेयकको प्रकाशन र परिचयबारे ह्विटसन बिदाबाट फर्र्किएपछि संसद्लाई जानकारी गराइने छ।’ उनले सरकारले जुन महिनाको पहिलो साता विधेयक प्रकाशनको तयारी गरेको समेत बताएका छन्। ‘हामीले दोस्रो अध्ययन जुन ७ का दिन गर्ने अपेक्षा राखेका छौं,’ उनले बताए।

‘यही अवस्थामा हामीले कुनै पनि च्यानलमा सम्झौतालाई सुरक्षित गरेका छैनौं। बिदा मनाएर आएपछि निश्चय पनि हामी संसद्लाई यसबारे अपडेट गराउने नै छौं,’ स्पेन्सरले बिबिसीसँग बताए। सांसदहरुले विधेयकबारे अध्ययन र छलफल गरिसकेपछि दोस्रो अध्ययन गर्ने र यसलाई अगाडि बढाउने वा नबढाउने भन्ने निर्णयार्थ पेश हुने बताइएको छ।

‘ट्रम्प भ्रमणसम्म प्रधानमन्त्री’
जुन महिनाको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको भ्रमण गर्दासम्म मे नै प्रधानमन्त्री रहिरहने विदेशमन्त्री जेरेमी हन्टले केही दिनअघि बताएका थिए। ‘ट्रम्पलाई स्वागत गर्नका लागि थेरेसा मे प्रधानमन्त्री रहिरहने छिन् र त्यो उनको अधिकार पनि हो,’ राष्ट्रिय साइबर सेक्युरिटी केन्द्रमा सम्बोधन गरेपछि प्रतिक्रिया दिँदै विदेशमन्त्री जेरेमी हन्टले बताए।

ट्रम्पले बेलायतको भ्रमण गर्नुपूर्व मेले कन्जरभेटिभ दलको नेताबाट राजीनामा दिनसक्ने सम्भावना रहे पनि कामचलाउ सरकारको प्रधानमन्त्री रूपमा उनले निरन्तरता भने दिन सक्ने अनुमान पनि गरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले आउँदो जुन ३ देखि ५ सम्म बेलायतको तीन दिने राजकीय भ्रमण गर्ने कार्यतालिका रहेको छ। प्रधानमन्त्री मेले ल्याउन लागेको नयाँ बे्रक्जिट योजनामा आफूले समर्थन गर्न नसक्ने खालका विभिन्न तत्व रहेको भन्दै लिडसनले बुधबार आफ्नो पदबाट राजीनामा दिएकी थिइन्।

देशको संसद् हाउस अफ कमन्सको नेत्रीका रूपमा उनले प्रधानमन्त्री मेले ल्याएको विधेयकको घोषणा लिडसमले गर्नु पर्ने हुन्छ। बेलायत र युरोपेली संघबीच भएको सम्झौतालाई लागू गर्ने विधेयक देशको संसद्समक्ष प्रस्तुत गर्नुपर्ने हुन्छ।
राजीनामा दिएपछि बिहीबार लिडसमले आफूले लिएको कदम सही भएको बताएकी छन्। मेपछि देशको प्रधानमन्त्रीको पदमा प्रतिस्पर्धा गर्नका लागि पदबाट राजीनामा दिएको हो भन्ने प्रश्नमा भने उनले कुनै उत्तर नदिएको बताइएको छ। लिडसमको सक्रियता र वफादारिता गुमाउनुपर्दा आफूलाई दुःख लागेको प्रधानमन्त्री मेले बताएकी छन्।

प्रकाशित: १० जेष्ठ २०७६ ०१:२३ शुक्रबार

युरोपेली_संघ थेरेसा_मे ब्रेक्जिट_सकस