अन्तर्राष्ट्रिय

पश्चिम चीनमा अनावृष्टि

कुनमिङ – चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ। विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्ण रूरुपमा नष्ट भएको छ।

यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको र तापक्रम निकै उच्च भएको अधिकारीहरुलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। अति गर्मीका कारण झिसुआङ्बान्नामा विद्यालय पनि बन्द गरिएको छ। स्थानीय सरकारले बढ्दो तापक्रमलाई ध्यानमा राखेर नागरिकलाई स्वास्थ्यसमेतका विषयमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

सुख्खापनसँग जुध्न प्रान्तीय सरकारले एक सय ७६ वटा पानी ट्यांकर पठाएको बताइएको छ। यी ट्यांकरको पानी खेतीबालीका लागि प्रयोग गरिने सरकारले जनाएको छ। खानेपानीको अभावसमेत झेलिरहेका करिब ३० हजार मानिसका लागि यी ट्ंयाकरबाट पछिल्लो समय झण्डै पाँच हजार ६ सय ४३ टन पानी वितरण गरिएको छ।

प्रकाशित: १० जेष्ठ २०७६ ०१:१५ शुक्रबार

चीन अनावृष्टि