अन्तर्राष्ट्रिय

इन्डोनेसियामा सुरक्षा व्यवस्था कडा

काठमाडाैं– गत महिनामा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको भन्ने विषयमा अपिल गर्ने म्याद आज सकिने भएकोले निर्वाचनजन्य हिंसा भड्किने डरले इन्डोनेसियामा सुरक्षा व्यवस्थामा कडाई गरिएको समाचार छ।

राजधानी जाकर्तामा बिहीबार दशौँ हजारको संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। बिहीबार बिहानैदेखि सुरक्षामा कडाई गरिएका समाचारहरु आइरहेका विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। गत मङ्गलबार इन्डोनेसियामा राष्ट्रपतिको निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै शुरु भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रदर्शनकारीबीच कैयौँ झडपहरु भएका थिए।

विशेषगरी राजधानी जाकर्तामा भएको झडपमा परी छ जना व्यक्तिको मृत्यु हुनुको साथै दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए। निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै राष्ट्रपतिमा विजयी जोको बिडोडोको विरोध भएको छ। यहाँका विपक्षीहरुले निर्वाचनमा धाँधली भएको भन्दै सडक प्रदर्शन थालेका हुन्। प्रदर्शनका क्रममा मारिएका ती व्यक्तिहरुमा उच्च माध्यमिक विद्यालयका एक १७ वर्षीय छात्र पनि परेका छन्।

मङ्गलबारबाट हिंसा शुरु भएको थियो। निर्वाचनजन्य हिंसामा परी बुधबार बिहान ९ बजेसम्म छ व्यक्तिको मृत्यु हुनुको साथै करिब दुई सयभन्दा बढी घाइते भएका मध्य जाकर्तामा रहेको एक अस्पताल स्रोतले जानकारी दिएको समाचारमा उल्लेख छ। मङ्गलबार रातिबाट शुरु भएको यो झडप पाँच घण्टासम्म जारी रहेको थियो। विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको बिडोडो मङ्गलबार पुनःराष्ट्रपति पदमा निर्वाचित भएकाे थियाे।

जाकर्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासितरुपमा निर्वाचन परिणाम घोषणा भएपछि राष्ट्रपति विडोडोका निकटतम प्रतिद्वन्द्वी पूर्वसैनिक जनरल प्रबोवो सुविआन्तोका समर्थकले निर्वाचनमा धाँधली भएको दाबी गर्न थालेका थिए। सत्तासिन राष्ट्रपति विडोडोले ५५.५ प्रतिशत मत प्राप्तगरी पुनःराष्ट्रपति पदमा विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएपछि त्यसको विरोधमा प्रर्दशनकारीले प्रर्दशन शुरु गरेका थिए।

निकटतम प्रतिद्वन्द्वी पूर्वसैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गरेका थिए। उनले निर्वाचन स्वच्छ र स्वस्थ रुपमा हुन नसकेको आरोप लगाएका छन्। निर्वाचन आयोगले मतगणना गरिसकेपछि स्थानीय समयानुसार मङ्गलबार बिहान १ः४६ मा विडोडोलाई पुनःराष्ट्रपतिमा विजयी भएको घोषणा गरेको थियो। इण्डोनेसियाका ३४ वटा प्रान्तका १३० शहरमा मतगणना गरिएको आयोगले जनाएको छ।

सन् २०१४ मा पनि विडोडोले ५३.१५ प्रतिशत मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुबिआन्तोले ४६.८६ प्रतिशत प्राप्त गरेका थिए। निर्वाचनको परिणाम बाहिरीएपछि प्राबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मानेका छैनन्। उनले पाँच ओटा प्रान्तमा निर्वाचन फेरि गराउनुपर्ने अडान लिनुभएको छ। यी प्रान्तमा धाँधली भएको प्राबोवोको दाबी छ। तर राष्ट्रपति बिडोडोको दलले भने निर्वाचनमा धाँधली भएको भन्ने समाचारको खण्डन गरेको छ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०९:५३ बिहीबार

इन्डोनेसिया निर्वाचन धाँधली