अन्तर्राष्ट्रिय

मत परिणाम सार्वजनिक भएसँगै इन्डोनेसियामा हिंसा

निर्वाचन परिणामविरुद्ध राजधानी जकार्तामा टायर बालेर प्रदर्शन गर्दै प्रदर्शनकारी । तस्बिर ः एजेन्सी

जकार्ता – इन्डोनेसियाली राष्ट्रपति जोको विडोडो दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएसँगै उनीविरुद्ध राजधानी जर्कातामा भएको प्रदर्शन हिंसात्मक बनेको छ ।
प्रदर्शन हिंसात्मक भएपछि कम्तीमा ६ जनाको मृत्यु हुनाका सार्थ दुई सयजना घाइते भएको बिबिसीले उल्लेख गरेको छ । घाइतेलाई उपचारका लागि लगिएका अस्पतालहरुबाट आएका विवरण उद्धृत गर्दै इन्डोनेसियाली प्रहरीले मृतकको संख्या पुष्टि गरेको छ । उनीहरुले प्रदर्शनकारीको मृत्युबारे अनुसन्धान भइरहेको पनि बताएका छन् ।

विडोडोको जितविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको आरोप लागे पनि इन्डोनेसियाली राष्ट्रिय प्रहरी प्रमुखले भने आफ्ना अधिकारीहरुले गोली नहानेको दाबी गरेका छन् । गत अफ्रि १७ का दिन सम्पन्न भएको इन्डोनेसियाली निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै हिंसा फैलन सक्ने पूर्वानुमान गरिएको थियो । विडोडोविरुद्ध आन्दोलन नचर्कियोस् र थप अफवाह नफैलियोस् भनेर सरकारले देशका केही भूभागमा सामाजिक संजालमाथि प्रतिबन्धसमेत लगाएको बिबिसीले उल्लेख गरेको छ ।

६ जनाको मृत्यु, दुईसय घाइते

‘केही घाइतेको शरीरमा गोलीले बनाएका घाउ देखिएका छन् भने केहीकोमा भने धारिलो हतियारको प्रहारबाट हुने खालको घाउ देखिएका छन् तर यसबारे स्पष्ट हुन बाँकी नै रहेको छ,’ इन्डोनेसियाली राष्ट्रिय प्रहरी प्रमुख टिटो कर्नाभियनलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । प्रहरी प्रमुख टिटोले मारिनेको संख्या ६ जनाको रहेको र उनीहरुको रातारात हत्या भएको हुनसक्ने पनि बताएका छन् ।

सरकारी अधिकारीहरुले भने प्रदर्शन पूर्वतयारी अनुसार नै गरिएको दाबीसमेत गरेका छन् । उनीहरुका अनुसार हिंसा फैलाउनका लागि भिजलान्तेको एउटा समूह सक्रिय रहेको थियो । ‘प्रदर्शनमा सहभागीमध्ये अधिकांश राजधानी जर्काताबाहिर बाट आएका थिए,’ प्रहरी प्रवक्ता मुहम्मद इकबाललाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । प्रदर्शनकारीहरु बुधबार पनि भेला भएको बताइएको छ ।

विडोडोको जितविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको आरोप लागे पनि इन्डोनेसियाली राष्ट्रिय प्रहरी प्रमुखले भने आफ्ना अधिकारीहरुले गोली नहानेको दाबी गरेका छन् ।

यसैबीच राष्ट्रपति विडोडोले दंगा फैलाउनेविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । ‘यो राज्यलाई विकास र निर्माण गर्नका लागि म जोसुकै पनि मिलेर काम गर्न सक्छु तर सार्वजनिक सुरक्षालाई खलल पु¥याउने र हाम्रो एकता वा प्रजातान्त्रिक प्रक्रियाविरुद्ध जानेलाई भने म किमार्थ स्वीकार गर्न सक्दिँन,’ राष्ट्रपति विडोडोले पत्रकार सम्मेलनका क्रममा बताए ।

प्रदर्शन कसरी सुरु भयो ?
विडोडो राष्ट्रपतिमा निर्वाचित भएको देशका निर्वाचन आयोगले सार्वजनिक गरेसँगै मंगलबार राजधानी जकार्तामा प्रदर्शन सुरु भएको थियो । शान्तिपूर्ण रूपमा प्रदर्शन सुरु भएको भए पनि केही समयपछि सो प्रदर्शन हिंसामा परिणत भएको थियो । प्रदर्शनकारीले कारहरुमा आगो लगाए र सुरक्षामा खटिएका प्रहरीमाथि पटाका प्रहार गरे । प्रर्दशन हिंसात्मक बन्न थालेपछि भीडलाई तितरवितर पार्नका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । लामो समयदेखि प्रतिस्पर्धी रहेका पूर्वसैनिक जनरल प्रबोवो सुविआन्तोलाई राष्ट्रपति विडोडोले पराजित गरेको निर्वाचन मत परिणाम सार्वजनिक भएसँगै प्रदर्शन सुरु भएको थियो । मंगलबार आधिकारिक मत परिणाम सार्वजनिक भएपछि प्रबोवोलाई समर्थन गर्दै हजारौं मानिस निर्वाचन सुपरिवेक्षण भवनबाहिर भेला भएका थिए । तर प्रहरीले भीड तितरवितर हुन आग्रह गरेपछि उनीहरु राजधानी जकार्ता वरपर छरिएका थिए ।

जकार्ताका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच भएका झडपका भिडियो क्लिप स्थानीय टेलिभिजनहरुले प्रशारण गरेका छन् । सम्भावित हिंसा रोक्नका लागि जकार्ता वरपरमात्रै मंगलबार करिब ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । नेता प्रबोवोले आफ्ना समर्थकहरुलाई बारम्बार शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेका थिए । ‘जबसम्म प्रदर्शनकारीले सभ्य, शान्तिपूर्ण र हिंसारहित प्रदर्शन गर्छन्, तबसम्म हामी उनीहरुको प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारको पक्षमा हुन्छौं,’ प्रबोवोले संवाददाताहरुसँग बताएका थिए ।

देशको आम निर्वाचन आयोगले सत्तासिन राष्ट्रपति विडोडोले ५५.५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी भएको मंगलबार घोषणा गरेको थियो । उनका निकटतम प्रतिद्वन्द्वी पूर्वसैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको थियो । प्रबोवोले भने निर्वाचन परिणामलाई अस्वीकार गर्दै धाँधली भएको आरोप लगाए पनि निर्वाचन आयोगले उनको दाबीलाई खारेज गरिदिएको छ ।

यसअघि सन् २०१४ मा भएको निर्वाचनमा पनि विडोडोले प्रबोवोलाई पराजित गरेका थिए । त्यसबेला विडोडोले ५३.१५ प्रतिशत मत प्राप्त गरेका थिए भने भने उनका निकटतम प्रतिद्वन्द्वी प्रबोवो सुविआन्तोले ४६.८६ प्रतिशत प्राप्त गरेका थिए । सो निर्वाचनमा धाँधली भएको भन्दै प्रबोवो इन्डोनेसियाको संवैधानिक अदातल गएका थिए तर अदालतले पनि उनको पराजयलाई सदर गरिदिएको थियो । अप्रिल १७ मा सम्पन्न भएको इन्डोनेसियाली निर्वाचनमा करिब १९ करोड मतदाता मतदानका लागि योग्य रहेको थिए । सो निर्वाचनले राष्ट्रपतिसहित २० हजार स्थानीय तथा राष्ट्रिय सांसदसमेत चुनेको आम निर्वाचन आयोगलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०६:०२ बिहीबार

इन्डोनेसिया मत_परिणाम हिंसा