अन्तर्राष्ट्रिय

गेम अफ थ्रोन्सको अन्तिम भागलाई मिश्रित प्रतिक्रिया

गेम अफ थ्रोन्सकी कलाकार इमिलिया क्लार्क। तस्बिर : एजेन्सी

लन्डन – टेलिभिजन इतिहासकै सर्वाधिक सफल सिरिज ‘गेम अफ थ्रोन्स’को अन्तिम भाग प्रसारण गरिएको छ। अन्तिम भाग प्रसारण भएसँगै अबदेखि गेम अफ थ्रोन्स सदाका लागि बन्द पनि भएको छ। तर सिजन आठको फाइनलले भने दर्शक र समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको छ। आठौं सिजनलाई पुनः निर्माण गर्नका लागि १० लाखभन्दा बढी दर्शकले अपिलमा हस्ताक्षर गरेका थिए, जसमा ‘प्रतिस्पर्धी लेखकहरु’ पनि रहेका थिए।

तसर्थ समिक्षकहरुबाट आएका प्रतिक्रिया नौलो नभएको बिबिसीले जनाएको छ। ‘गेम अफ थ्रोन्सको यो सिजन हतारका गरिएको व्यापार हो भन्नेमा कुनै शंका नै छैन,’ लुसी मनगनले ‘द गार्जियन’मा लेखेकी छन्। ‘यसले अवसरहरुलाई खेर फालेको छ, साखलाई गिराएको छ र यसमा खेल्ने कलाकार र चरित्रलाई न्याय गर्न चुकेको छ,’ उनले लेखेकी छन्। ‘तर फाइनल भाग प्रसारण भएको छ,’ लुसीको लेख उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

‘जब तपाईंले गेम अफ थ्रोन्स खेल्नुहुन्छ, तपाईंले जित्नु वा हार्नु हुन्छ। मलाई लाग्छ, समग्रमा तपाईंले जित्नुहुन्छ,’ उनले लेखेकी छन्। ‘कस्तो पूर्ण एन्टिक्लाइमेक्स,’ निकालेना एगिसले ‘द सन’ मा लेखेकी छन्। ‘प्रसारण गर्नुअघि एचबिओले यस सिरिजलाई हेरेको थिएन ? मेरो मतलव एचबिओसँग दुई वर्ष थियो ! एउटै कथावस्तु बारम्बार देखाउनुभन्दा यस अवधिमा उसले लेखकहरु खोजेको भए हुन्थ्यो। मलाई लाग्छ उनीहरुले यो सन्देश प्राप्त गर्नेछन्,’ उनले लेखेकी छन्।

‘सुनौलो पक्षतिर भन्नुपर्दा कम्तीमा गेम अफ थ्रोन्स सधाका लागि अन्त्य भयो भन्दा मचाहिं दुःखी छैन। यति सजिलै सधैंका लागि सिरिज बन्द गरिदिएकोमा धन्यवाद सिजन आठ,’ उनले लेखेकी छन्। ‘७२ वटा भागलाई निरन्तर हेरेका दर्शकलाई यसले सुखद् अनुभूति भने दिन सकेन,’ ‘द इन्डिपेन्डेन्ट’मा गेम अफ थ्रोन्सको अन्तिम भागलाई ‘टु–स्टार’ रिभ्यु दिएका समिक्षक निक हिल्टनले बताएका छन्।

‘केही वर्ष अघिसम्म गेम अफ थ्रोन्सको अन्तिम भाग हर्नेबारे कसैले सोच्नै सक्दैन थिए तर आजको राति यो वास्तविकता निकै टाढा भइसकेको थियो,’ उनले लेखेका छन्। ‘गेम अफ थ्रोन्सको फाइनलबारेको महŒवपूर्ण कुरा के हो भने यसले दर्शकलाई कति खाली सोच्न बाध्य बनायो भन्ने हो, ‘द टेलिग्राफ’ का एड पावरले लेखेका छन्। गेम अफ थ्रोन्सको अन्तिम भागबारे आलोचनाबाहेक समर्थन पनि भएका छन्। सिरिजको अन्तिम भागलाई समर्थन गर्नेमध्येमा लेखक स्टेफन किंग पनि एक हुन्। उनले अन्तिम भागलाई समर्थन गर्दै ट्विट गरेका छन्।

‘सिरिजको अन्तिम भागबारे थुप्रै नकारात्मक कुरा बाहिरिएका छन् तर यसो हुनुमा मानिसले गेम अफ थ्रोन्सको अन्त्य नहोस् भन्ने चाहना मुख्य हो,’ उनले लेखेका छन्। ‘तर तपाईंलाई थाहा छ उनीहरुले सबै राम्रा कुरा भनेका छन्।’ अन्तिम भागपछि गेम अफ थ्रोन्समा अभिनय गरेका कैयौं कलाकारले सिरिज र यसमा संलग्न टिमलाई सामाजिक संजालमार्फत सम्मान प्रकट गरेका छन्। ‘यो सिरिजलाई अन्तिम भागसम्म समर्थन गरेकामा धन्यवाद,’ अन्तिम भाग प्रसारण हुनुपूर्व सोफी टर्नरले लेखेकी छन्।

प्रकाशित: ७ जेष्ठ २०७६ ०१:५५ मंगलबार

टेलिभिजन गेम_अफ_थ्रोन्स प्रतिक्रिया