अन्तर्राष्ट्रिय

भेनेजुएला र प्रजातान्त्रिक विपक्षीबीच वार्ता

भेनेजुएलाको काटिया ला मारस्थित नौसेनाको शिविरमा मंगलबार आयोजित एउटा समारोहमा सहभागी हुँदै राष्ट्रपति निकोलस मादुरो। तस्बिर: एजेन्सी

कराकस – भेनेजुएली सरकार र प्रजातान्त्रिक विपक्षीबीच युरोपेली राष्ट्रमा वार्ता भएको बताइएको छ। देशमा राष्ट्रपति निकोलस मादुरोविरुद्धको प्रदर्शनमा वृद्धि भइरहेकै समयमा समस्या समाधानका लागि सम्भावित हल खोज्नका लागि दुई पक्षबीच वार्ता भएको सरकारी वार्ता प्रतिनिधिले बिहीबार जानकारी दिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

‘बोलिभारियन सरकार र विपक्षीतर्फका प्रजातान्त्रिक समूहबीच नर्वेमा वार्ता भइरहेको विषय पक्का हो,’ संयुक्त राष्ट्रसंघका लागि भेनेजुएली राजदूत जर्ज भालेरोले अमेरिकी हस्तक्षेपको विरोध गर्दै संचारकर्मीहरुसँग बताए। ‘भेनेजुएली सरकार वार्ता मन पराउने सरकार हो,’ अमेरिकी राष्ट्रपति ट्रम्पलाई युद्ध अपराधी भन्दै भालेरोले बताए।

‘देशको विडम्बना भन्नुपर्छ भेनेजुएलामा युद्ध चाहने र आतंकवादका साथै फासिस्ट व्यवस्थालाई अगाडि बढाउन चाहने विपक्षी दल पनि रहेको छ, जुन अमेरिकी शासकका कठपुतली हुन्,’ उनले बताए। भेनेजुएली सरकार र विपक्षीबीच भइरहेको वार्ताबारे आफूले बोल्नु भनेको आफ्नो मूल्य मान्यतामा नपर्ने नर्वेली विदेश मन्त्रालयले जनाएको छ।

‘भेनेजुएलामा भइरहेको घटनाक्रमबारे नर्वेले नजिकबाट नियालिरहेको छ। हामी दुवै पक्षलाई राजनीतिक र शान्तिपूर्ण तरिकाले समस्याको समाधान गर्न र भविष्यमा हुने तनावलाई कम गर्न आग्रह गर्दछौं,’ नर्वेली विदेश मन्त्रालयकी प्रवक्ताले बताएकी छन्। नर्वेको मध्यस्ततामा भएको भेनेजुएली सरकार र विपक्षीबीचको वार्ता सफल हुनेमा अधिकांश भेनेजुएली विपक्षी समर्थक विश्वस्त हुन नसकेको बताइएको छ।

विगतमा पनि सरकार र विपक्षीबीच कैयौं चरणको वार्ता भएको र त्यसले निष्कर्ष दिन नसकेको भन्द्यै उनीहरुले आशंका व्यक्त गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। राष्ट्रसंघका लागि भेनेजुएली राजदूत भालेरोले नर्वेमा भइरहेको वार्ताबारे विस्तृत विवरण भने दिएनन्।

विपक्षी स्रोतका अनुसार वार्ताका लागि भेनेजुएली सूचनामन्त्री जर्ज रोड्रिगज र सत्तारुढ समाजवादी पार्टीका तर्फबाट मिरान्डा राज्य गभर्नर हेक्टर रोड्रिगज दुवैजना ओस्लो गएका छन्। त्यसैगरी विपक्षी सांसद स्टालिन गोन्जालेज, राजनीतिक सल्लाहकार गेरार्डो र फर्नान्डो मार्टिनेज पनि वार्ताका लागि ओस्लो पुगेको बताइएको छ। मादुरोलाई तानाशाहको संज्ञा दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको सरकारविरुद्ध कडा प्रतिबन्ध लगाउँदै विपक्षी नेता उवान गुआइडोलाई समर्थन गरिरहेका छन्।

भेनेजुएलाका विपक्षी नेता गुआइडोले गत जनवरी महिनामा आफूले आफैंलाई देशको अन्तरिम राष्ट्रपति भएको घोषणा गरेका थिए। उनको घोषणा आएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई अन्तर्राष्ट्रिय मान्यता रहेको बताएका थिए। विपक्षीले बहिष्कार गरेको सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै विपक्षी नेता गुआइडोले त्यस्तो निर्वाचनबाट जितेको भन्दै मादुरोले राष्ट्रपतिको शपथ लिनु गैरकानुनी भएको तर्क पेश गर्दै आएका छन्।

समाजवादी नेता ह्युगो चाभेजको सन् २०१४ मा निधन भएदेखि भेनेजुएलाको शासनमा रहेका राष्ट्रपति मादुरोले सन् २०१८ को निर्वाचनमा आफूले जितेको भन्दै दोस्रो कार्यकालका लागि गत जनवरी पहिलो साता राष्ट्रपति पदको शपथ लिएका थिए। उनले राष्ट्रपति पदको शपथ लिएपछि विपक्षी दलले जनवरी तेस्रो साता मादुरोविरुद्ध राजधानी कराकसमा प्रदर्शन गरेको थियो। प्रदर्शनमा सहभागीका सामु विपक्षी नेता एवं विपक्षीनको नियन्त्रणमा रहेको देशको राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गुआइडोले देशको संविधानलाई उद्धृत गर्दै आफू अन्तरिम राष्ट्रपति भएको घोषणा गरेका थिए।

भेनेजुएलाको संविधानअनुसार देशमा राष्ट्रपति नभएका बेला राष्ट्रिय सभाका अध्यक्ष अन्तरिम राष्ट्रपति हुने र उनले देशमा नयाँ निर्वाचन गरी लोकतान्त्रिक सरकारलाई हस्तान्तरण गर्ने व्यवस्था रहेको छ। विपक्षी नेता गुआइडोले गैरकानुनी निर्वाचनमार्फत मादुरो राष्ट्रपति बन्न खोजेकाले देशमा आधिकारिक राष्ट्रपति नभएको भन्दै देशको संविधानअनुसार आफू अन्तरिम राष्ट्रपति भएको घोषणा गरेका थिए।
त्यसबेलादेखि मादुरोको विरोधमा देशमा विभिन्न भूभागमा विरोध प्रदर्शन भइरहेका छन्। यसैक्रममा विपक्षी नेता गुआइडोले गत अपिल ३० का दिन देशको शक्तिशाली सेनालाई मादुरोविरुद्ध विद्रोह गर्न आह्वान गरेका थिए।यद्यपि देशको सेनाले उनको आह्वानको वेवास्ता गर्दै आफ्नो समर्थन मादुरोको पक्षमा रहेको बताउँदै आएको छ।

प्रकाशित: ३ जेष्ठ २०७६ ०१:२४ शुक्रबार

निकोलस_मादुरो भेनेजुयला_संकट अमेरिकी_हस्तक्षेप