अन्तर्राष्ट्रिय

अमेरिकासँग युद्ध नहुने इरानी सर्वोच्च नेताको भनाइ

क्याप्सन ः अमेरिकाले मध्यपूर्वमा पठाएको अत्याधुनिक अमेरिकन बी–५२ स्ट्राटोफर्टेस बमवर्षक जहाज। तस्बिर :एजेन्सी

तेहरान – संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्लो समय तनाव बढिरहेको भए पनि दुई देशबीच युद्ध नहुने इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले मंगलबार बताएका छन्। इरानको आणविक क्षमता र उसको क्षेप्यास्त्र कार्यक्रमलाई लिएर दुई परम्परागत शत्रु राष्ट्रबीच पछिल्लो समय तनाव उत्कर्षमा पुगेकै बेला सर्वोच्च नेता खामेनीको भनाइ आएको हो।

राज्य संचालित टेलिभिजनमा प्रसारण गरिएको सर्वोच्च नेता खामेनीले देशका वरिष्ठ अधिकारीहरुलाई दिइरहेको प्रतिक्रियामा इस्लामिक गणतन्त्र इरानले अमेरिकासँग युद्ध पनि नगर्ने र अर्को आणविक सम्झौताका लागि वार्ता पनि नगर्ने प्रष्ट पारेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। ‘अमेरिका र इरानबीच कुनै युद्ध हुने छैन। इरानले युद्धको बाटो पछ्याएकै छैन,’ खामेनीलाई उद्धृत गर्दै राज्य संचालित सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ‘हामी युद्ध चाहँदैनौं र उनीहरुले पनि युद्ध चाहेका छैनन्। उनीहरुलाई राम्रोसँग थाहा छ इरानसँगको युद्ध उनीहरुको राष्ट्रिय स्वार्थभित्र पर्दैन,’ खामेनीले बताए। ‘अमेरिकासँग गर्ने त्यस्तो सम्झौता विष हुनेछ,’ सर्वोच्च नेता खामेनीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

इरानको आणविक कार्यक्रम रोक्ने र उसविरुद्ध लागेको अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्ने उद्देश्यसहित विश्वका छ शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिका, चीन, रुस, बेलायत, फ्रान्स तथा जर्मनी र इरानबीच सन् २०१५ मा आणविक सम्झौता भएको थियो। अमेरिकाका तर्फबाट तत्कालीन राष्ट्रपति बाराक ओबामाले सो सम्झौतामा हस्ताक्षर गरेका थिए। तर सुरुदेखि नै सो सम्झौताको विरोध गर्दै आएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि सो सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेका थिए। राष्ट्रपति ट्रम्पले सन् २०१५ को सो सम्झौता धोखा भएको भन्दै नयाँ सम्झौतामा जोड दिँदै आएका छन्। सन् २०१५ को सो सम्झौताअनुसार इरानले आफ्नो युरेनियम प्रशोधनको कार्यलाई रोक्ने र त्यसको बदलामा उसविरुद्ध लागेको प्रतिबन्ध हटाउने विषय समावेश गरिएको थियो।

अमेरिका सम्झौताबाट बाहिरिए पनि अन्य राष्ट्रहरु भने सो सम्झौतामा नै अडिग रहेको बताउँदै आएका छन्। इरानले भने सन् २०१५ को आणविक सम्झौताका केही बुँदा वा पक्षलाई आफूले तोडेको घोषणा गरिसकेको अवस्था छ। आणविक सम्झौताबाट बाहिरिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध पुनः प्रतिबन्धको घोषणा गरेका थिए। इरानले गर्दै आएको तेल निर्यातलाई शून्यमा पु¥याउनु अमेरिकी प्रतिबन्धको प्रमुख उद्देश्य रहेको बताइएको छ। वासिङ्टले इरानलाई नयाँ सम्झौताका लागि बाध्य बनाउन पनि प्रतिबन्धको सहारा लिइरहेको बताइएको छ। इरानले सीमामा हुने हतियार व्यापार नियन्त्रण गरोस् भन्ने अमेरिकी इच्छा रहेको छ भने उसको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई पनि अमेरिकाले लक्षित गर्ने गरेको छ।

इरान र अमेरिकाबीच पछिल्लो समय वाकयुद्ध तीब्र भइरहेको छ। केही दिनअघि मात्रै सम्भावित इरानी आक्रमणबाट जोगिने भन्दै अमेरिकाले मध्यपूर्वमा अत्याधुनिक क्षेप्यास्त्र प्रतिरोध प्रणाली र युद्धक विमानहरु पठाएको छ। यसैबीच दुई साउदी तेल ट्यांकरसहित चारवटा व्यापारिक जहाजमाथि आक्रमण गरिएको संयुक्त अरब इमिरेट्सले आइतबार उल्लेख गरेको छ।

इरानका लागि काम गर्ने वा इरानमाथि सहानुभूति राख्ने समूह वा व्यक्तिले ती जहाजमाथि आक्रमण गरेको हुनसक्ने अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। इरानले भने अमेरिकाको यस्तो आरोप अस्विकार गरेको छ। इरानका विदेशमन्त्री मोहम्मद जाभाद जारिफले अमेरिकी सरकारभित्र रहेका अतिवादी व्यक्तित्वले प्रतिबन्धसहित इरानमाथि युद्ध लाद्ने खतरनाक नीति अवलम्बन गरिरहेको अरोप लगाएका छन्। उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रिय स्वार्थमा आक्रमण गरे इरानले ठूलो क्षतिको सामना गर्नु पर्ने सोमबार चेतावनी दिएका थिए।

प्रकाशित: २ जेष्ठ २०७६ ०६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App