अन्तर्राष्ट्रिय

थाई नरेशको राज्याभिषेक सम्पन्न

बैंकक – थाइल्यान्डका नरेश महा वजिरालंकर्नले शनिबार राज्याभिषेक गरेका छन्। बैंककस्थित ग्रान्ड प्यालेसमा जल सेचन गरेर नरेश वजिरालंकर्नको राज्याभिषेक गराइएको दरबारका अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। थाइल्यान्डमा राज्याभिषेकलाई राज्य संचालनको पूर्ण अधिकारका लागि गरिने एउटा महŒवपूर्ण सांस्कृतिक प्रक्रियाको रूपमा लिइन्छ।

पवित्र जल नरेशको शीरमा छर्केर शुद्ध बनाएर राज्याभिषेक गराइने धार्मिक तथा सांस्कृतिक परम्परा थाइल्यान्डमा रहेको छ। स्थानीय समयानुसार शनिबार बिहान ९ बजेदेखि सुरु भएको राज्याभिषेक समारोहको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। दिउँसो १ बजे सम्म सो समारोह चलेको थियो।

समारोहमा राज्याभिषेकका लागि नरेश वजिरालंकर्न रानी सुथिडासहित उपस्थित भएका थिए। थाई नरेश वजिरालंकर्नले केही दिन अगाडी मात्रै आफ्नै सुरक्षामा खटिएकी महिलासँग विवाह गरेका हुन्। ६६ वर्षीय नरेशले ४० बर्षीया महिलासँग तेस्रो विवाह गरेर उनको नाम रानी सुथिदा राखेका थिए।

अहिले विवाह गरेकी महिला राजा वजिरालंकर्न युवराज छँदै सन् २०१४ मा अंगरक्षकको समूहमा प्रवेश गरेकी थिइन्। सुथिदाले नरेशको विशेष सुरक्षा दस्तामा रहेर लामो समय काम गरेकी छन्। शाही सुरक्षामा जोडिनु अघि उनी थाई एयरलाइन्समा परिचारिका थिइन्।

नरेश वजिरालंकर्नको यसअघि तीन जनासँग विवाह भएपनि तीनै जनासँग सम्बन्ध बिच्छेद भइसकेको छ।
थाई नरेशले तेस्री श्रीमतीसँग पाँच बर्षअघि १३ बर्ष लामो वैवाहिक सम्बन्धलाई विच्छेद गरेका थिए। पहिलेका तीन विवाहबाट थाई नरेशका सात सन्तान छन्। थाइल्यान्डमा लामो समय राज्य गरेका भूमिवोल अदुल्यादेजको सन् २०१६ मा निधन भएपछि उनका छोरा वजिरालंकर्न नरेश बनेका हुन्।

थाइल्यान्डमा संवैधानिक राजतन्त्र छ। राजपरिवारलाई थाइ नागरिकले निकै श्रद्धा गर्छन् र उनीहरूसँग शक्ति पनि छ। थाइल्यान्डमा राजपरिवारको आलोचना गर्न मनाही छ र  आलोचना गर्ने माथि कडा कारबाही हुने कानुनी व्यवस्था रहेको छ।

प्रकाशित: २२ वैशाख २०७६ ०२:२८ आइतबार

महा_वजिरालंकर्न थाइल्यान्ड