अन्तर्राष्ट्रिय

जापानका नयाँ राजाको पहिलो सम्बाेधनः 'विश्व शान्तिका लागि सँगै काम गरौँ'

टाेकियाे– जापानका नयाँ राजा नारुहितोले विश्व शान्तिका लागि सँगसँगै काम गर्न आह्वान गरेका छन्।

राजामा नियुक्त भएपछिको पहिलो सम्बाेधन गर्दै शनिबार उनले सबै देशहरुसँग हातमा हात मिलाएर अगाडी बढ्न आफूले चाहेको बताए। उनले भने, 'म गम्भीरतापूर्वक आग्रह गर्दछु कि, विश्व शान्ति र बाँकी विकासका लागि सवै देशहरुले सहकार्य गर्नु आवश्यक छ।' जापानका १२६ औँ राजा ५९ बर्षीय नारुहितो टोकियोस्थित राजदरबारको शिशाले घेरिएको बार्दलीमा देखा परेका थिए।

उनीसँगै महारानी मासाकोसहित शाही परिवारका अन्य सदस्यहरु पनि देखा परेकाे समाचारमा जनाइएको छ। जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राजगद्दी सम्हालेका हुन्। उनी जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६ औं राजा भएका छन्। विदेशमा अध्ययन गर्ने पहिलो तथा जापान पराजित भएको दोस्रो विश्वयुद्धपछि जन्मिएका नारुहितोलाई मङ्गलबार मध्यरातमा 'क्रिसेन्थिमम थ्रोन' नाम दिइएको विशिष्टरुपमा सजाइएको राजगद्दीमा राखिएको थियो।

उनका बुबा सम्राट अकिहितोले मङ्गलबार राजगद्दी त्यागेका थिए। जापानी इतिहासमा दुई सय वर्षभन्दा बढीको अवधिमा कुनै सम्राटले स्वेच्छाले राजगद्दी त्याग गरेको यो पहिलो पटक हो। पूर्व राजा अकिहितो र रानी मिचिको भने सो कार्यक्रममा सहभागी  थिएनन्। रासस

प्रकाशित: २१ वैशाख २०७६ ०९:४९ शनिबार

जापान राजा_नारुहितो सम्बाेधन