अन्तर्राष्ट्रिय

विपक्षीले ‘कू’ को प्रयास गरेको सरकारी आरोप

राष्ट्रपति निकोलस मादुरोविरुद्धमा राजधानी कराकसमा आयोजित प्रदर्शनमा उत्रिएका विपक्षी। तस्बिर: एजेन्सी

कराकस – भेनेजुएली सरकारले देशको विपक्षी दलले ‘कू’ को प्रयास गरेको आरोप लगाएको छ। विपक्षी नेता उवान गुआइडोले राष्ट्रपति निकोलस मादुरोको शासनको अन्त्य गर्नका लागि आफू अन्तिम चरणमा पुगेको घोषणा गरेलगत्तै भेनेजुएली प्रशासनले विपक्षीले गरेको ‘कू’ को सानो प्रयासलाई समाधान गर्न लागेको बताएको हो।

सेनाको युनिफर्म लगाएका व्यक्तिसहित एउटा भिडियोमा देखिएका विपक्षी नेता गुआइडोले आफूलाई सेनाको समर्थन रहेको बताएका छन्। उनले सोही भिडियोमै मादुरो शासनको अन्त्यतिर आफू लागेको दाबी गरेका छन्।

यसै वर्षको जनवरी महिनामा आफूले आफैंलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता गुआइडोले मादुरोको अवैधानिक शक्तिलाई परास्त गर्नका लागि सेनाका थप सदस्यले पनि आफूलाई समर्थन गर्न आग्रहसमेत गरेका छन्।

अर्का विपक्षी नेता लियोपोल्डो लोपेजसहित उभिएका विपक्षी नेता गुआइडोको तीन मिनेट लामो भिडियो बाहिरिएको हो। सन् २०१४ मा सरकारविरोधी प्रदर्शनलाई हिंसात्मक बनाउनका लागि प्रमुख भूमिका खेलेको आरोपमा नेता लियोपोल्डो हाल आफ्नै घरमा नजरबन्दमा रहेका छन्। यद्यपि उनले भने आफूलाई गुआइडोलाई समर्थन गर्ने घोषणा गरेका सेनाका सदस्यले नजरबन्दबाट मुक्त गरेको बताएका छन्।

सामाजिक संजालमार्फत सार्वजनिक गरिएको भिडियोमा विपक्षी नेता गुआइडोले कराकसमा आफूलाई ‘बहादुर सेना’को समर्थन र सहयोग रहेको दाबीसमेत गरेको बिबिसीले उल्लेख गरेको छ। ‘भेनेजुएली संविधानलाई समर्थन गर्दै आएका बहादुर र देशप्रेमी सेनाले आज हाम्रो आग्रहमा समर्थन जनाएका छन्,’ गुआइडोले सैनिक पोशाकमा रहेका साना समूहसँगै उभिएर खिचेको भिडियोमा दाबी गरिएको छ।

‘शक्तिको दुरुपयोग गर्नेका विरुद्ध भेनेजुएलाका जनता अब सडकमा आउनुहोस्। राष्ट्रिय सशस्त्र फौजले सही निर्णय लिएको छ। उनीहरुलाई भेनेजुएली जनता र देशको संविधानको समर्थन रहेको छ। देशको इतिहासमा उनीहरुले लिएको कदम सही थियो भनेर लेखिने ग्यारेन्टी छ,’ भिडियोमा विपक्षी नेता गुआइडोले बताएका छन्।

भेनेजुएलाको विपक्षी पकडमा रहेको राष्ट्रिय सभाका अध्यक्षसमेत रहेको विपक्षी नेता गुआइडोले आफूले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेदेखि नै देशको सेनालाई आफूलाई समर्थन गर्न आग्रह गर्दै आएका छन्। राष्ट्रपति मादुरो र गुआइडोबीच शक्ति संघर्ष चलिरहे पनि देशको शक्तिशाली सेनाले भने आफ्नो समर्थन मादुरोप्रति नै रहेको बताउने गरेको छ। यद्यपि विपक्षी मादुरोलाई संयुक्त राज्य अमेरिकालगायत ल्याटिन अमेरिकाका अधिकांश राष्ट्रको समर्थन रहेको छ। समर्थनको विषयमा पनि अन्तर्राष्ट्रिय विचार बाँडिएका छन्। कराकसमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर विश्व समुदाय दुई धुव्रमा विभाजित भएका छन्। अमेरिकालगायत युरोपका अधिकांश राष्ट्र विपक्षी नेता गुआइडोको पक्षमा देखिएका छन् भने मेकिसको, टर्की, चीन र रुसजस्ता राष्ट्र मादुरोको पक्षमा देखिएका छन्।

समाजवादी नेता ह्युगो चाभेजको निधनपछि भेनेजुएलाको सत्ता सञ्चालन गरिरहेका राष्ट्रपति मादुरोले विपक्षीहरुले बहिष्कार गरेको गत वर्षको निर्वाचनमा आफूले जित हासिल गरेको भन्दै दोस्रो कार्यकालका लागि यसै वर्षको जनवरी पहिलो साता शपथ लिएपछि भेनेजुएलामा सरकार विरोधी प्रदर्शन सुरु भएका थिए। सोही विरोध प्रदर्शनकै क्रममा देशको संविधानलाई उल्लेख गर्दै विपक्षी नेता गुआइडोले आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।

भेनेजुएलाको संविधानअनुसार राष्ट्रपति नभएको बेला वा वैधानिकता नपाएको बखत राष्ट्रिय सभाका अध्यक्ष अन्तरिम राष्ट्रपति हुने व्यवस्था रहेको छ। मादुरो अवैधानिक राष्ट्रपति भएकाले आफू अन्तरिम राष्ट्रपति भएको विपक्षी नेता गुआइडोले दाबी गर्दै आइरहेका छन्।

विपक्षी नेता गुआइडोले सामाजिक संजालमार्फत मंगलबार सार्वजनिक गरेको भिडियो राजधानी कराकसस्थित वायुसेनाको एक शिविरमा रेकर्ड गरिएको बताइएको छ। उता, विपक्षी नेताले दाबी गरेजस्तो सेनाको ठूलो समूहले उनलाई समर्थन नगरेको भेनेजुएली सरकार तथा राष्ट्रपति निकोलस मादुरो प्रशासनले बताएको छ। उसले विपक्षी नेताले ‘कू’ को प्रयास गरेको भए पनि त्यसलाई सरकारले निस्तेज पारिसकेको पनि दाबी गरेको छ।

भेनेजुएलाका सूचनामन्त्री जोर्ग रोड्रिजले विपक्षीको दाबीमाथि ट्विट गर्दै ‘कू’ को प्रयास गर्ने सेनाको सानो समूहलाई सरकारले निस्तेज पारिसकेको बताएका छन्। त्यसैगरी रक्षामन्त्री भ्लादिमिर प्याड्रिनोले पनि सबै सैन्य शिविर राम्ररी संचालनमा रहेको र देशको सेना वैधानिक सरकार र संविधानको रक्षामा तल्लीन रहेको दाबी गरेका छन्।

प्रकाशित: १८ वैशाख २०७६ ०३:०९ बुधबार

उवान_गुआइडो निकोलस_मादुरो भेनेजुएली_संकट