अन्तर्राष्ट्रिय

भेनेजुएली तेलमाथिको अमेरिकी प्रतिबन्ध लागू

राष्ट्रपति निकोलस मादुरोविरुद्ध विपक्षीद्वारा गरिएको प्रदर्शन। तस्बिर : एजेन्सी

न्युयोर्क – भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रूपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ। राष्ट्रपति निकोलस मादुरोको शासनविरुद्ध उभिएको संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो।

प्रतिबन्ध लागू भएपछि संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राज्य नियन्त्रित पेट्रोलिओस डी भेनेजुएला (पिडिभिएसए) वा भेनेजुएला सरकारको ५० प्रतिशतभन्दा बढी लगानी रहेका कुनै पनि निकायबाट तेल आयात गर्नेमाथि कारबाही गर्ने छ। राष्ट्रपति मादुरोलाई विस्थापित गरी विपक्षी नेता उवान गुआइडोलाई राष्ट्रपतिमा स्थापित गर्ने अमेरिकी ट्रम्प प्रशासनले स्पष्ट गरिसकेको छ। विपक्षी नेता गुआइडोलाई अमेरिका, युरोपेली मुलुकसहित अधिकांश दक्षिण अमेरिकी देशहरुको समर्थन छ।

संकट आउनुअघि भेनेजुएलाले प्रतिदिन पाँच लाख ब्यारेल तेल संयुक्त राज्य अमेरिका निकासी गरिरहेको थियो। तेलका लागि अमेरिका नै भेनेजुएलाको सबैभन्दा ठूलो ग्राहक हो। ‘आइतबारदेखि प्रतिबन्ध लागू हुने भए पनि संयुक्त राज्य अमेरिका र भेनेजुएलाबीचको तेल व्यापारमा केही महिनादेखि तीब्र रूपमा कमी आइसकेको छ,’ अन्तर्राष्ट्रिय कानुनका विज्ञ मारिआनो डी अल्बालाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

राष्ट्रपति निकोलस मादुरोको शासनविरुद्ध उभिएको संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो।

अमेरिकी प्रतिबन्धको असर विभिन्न आर्थिक संक्टले घेरिएको भेनेजुएलाको अर्थतन्त्रमा पर्नेछ। भेनेजुएलासँग तेलको कारोबार गर्ने अन्य कम्पनीमाथि पनि अमेरिकाले निगरानी गर्नेछ जसबाट भेनेजुएलामाथि थप दबाब सिर्जना हुनेछ। ऊर्जा खपतमा अग्रणी मानिएको भारत भेनेजुएलाबाट तेल आयात गर्ने सन् २०१७ मा तेस्रो ठूलो आयातकर्ता मुलुक हो। पहिलो र दोस्रो स्थानमा संयुक्त राज्य अमेरिका र चीन रहेका छन्।

भारतीय कम्पनीले अमेरिकी प्रतिबन्धसँगै तेल खरिदमा कमी गर्न थालिसकेका छन्। मादुरोको शासनलाई समर्थन जनाएका चीन र रुसले भेनेजुएलालाई आर्थिक तथा राजनीतिक मद्दत गरिरहेका छन्। इरानबाट तेल खरिद गर्न रोकिएसँगै विश्व बजारमा तेलको मूल्यवृद्धि हुन थालिसकेको छ। भेनेजुएलाको कमजोर अर्थतन्त्रमा तेल नै जीवन रक्षक हो। भेनेजुएलाको कूल निर्यातको झण्डै ९६ प्रतिशत तेल निकासीबाट आम्दानी हुने गरेको छ।

पछिल्लो समय राजनीति टकरावका कारण भेनेजुएलाको अर्थतन्त्र झनै विकराल बन्दै गएको छ। विपक्षी नेता गुआइडोले यसै वर्षको जनवरी महिनामा आफूले आफैंलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा थप राजनीतिक संकट गहिरिएको हो। मादुरोले दोस्रो कार्यकालका लागि जनवरी पहिलो साता शपथ लिएपछि विपक्षीहरु ऋाक्रामक बनेका हुन्।

विपक्षीले बहिष्कार गरेको गत वर्षको निर्वाचनबाट आफू दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएको भन्दै मादुरोले जनवरी पहिलो साता पुनः राष्ट्रपति पदको शपथ लिएका थिए। सो शपथविरुद्ध राजधानी कराकसमा आयोजित विरोध प्रदर्शनका क्रममा विपक्षी नेता गुआइडोले अन्तरिम राष्ट्रपतिका रूपमा आफूलाई घोषित गरेका थिए।

भेनेजुएलाको संविधानअनुसार राष्ट्रपतिको गैरउपस्थितिमा वा राष्ट्रपतिविहीन भएको अवस्थामा राष्ट्रिय सभाका अध्यक्ष अन्तरिम राष्ट्रपति बन्ने व्यवस्थालाई उल्लेख गर्दै गुआइडोले आफूले आफैंलाई राष्ट्रपति घोषणा गरेका थिए। विपक्षीले मादुरोलाई अवैधानिक राष्ट्रपतिका रूपमा लिँदै आएका छन्। गुआइडोको घोषणा बाहिरिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई मान्यता दिएका थिए। ट्रम्पकै बाटो पछ्याउँदै ५० बढी राष्ट्रले विपक्षी नेता गुआइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिइसकेका छन्। रुस, चीन, मेक्सिको र टर्कीलगातयका राष्ट्र भने मादुरोकै  पक्षमा उभिएका छन्। राजनीतिक खिचातानी भइरहे पनि र विपक्षीले सेनालाई मादुरोलाई समर्थन नगर्न आग्रह गरिरहे पनि देशको शक्तिशाली सेना भने हालसम्म मादुरोकै पक्षमा उभिएको छ।

प्रकाशित: १६ वैशाख २०७६ ०६:५५ सोमबार

भेनेजुएला तेल प्रतिबन्ध