अन्तर्राष्ट्रिय

भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, २६ घाइते

तस्बिर : एएनआई

नयाँ दिल्ली- भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। यात्रुबाहक बस सडकबाट झण्डै दुई सय मिटर तल खसेपछि भएको दुर्घटनामा परी घाइते भएका २६ मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

शनिबार राति चम्बा जिल्लाको पन्चपुल गाउँमा दुर्घटना भएको प्रहरी अधिकारीले आइतबार जानकारी दिएका छन्। घटनास्थल हिमाञ्चल प्रदेशको राजधानी शिम्लादेखि ३२७ किलोमिटर टाढा पर्दछ। “गतराति यात्रु बोकेको बस पन्चपुल नजिकैबाट झण्डै २०० मिटर तल खस्यो, दुर्घटनामा परी दश जनाको घटनास्थलमै मृत्यु भएको छ,” एक प्रहरी अधिकृतले भने। उनले अन्य केही घाइते भएका र उनीहरुको विभिन्न ठाउँमा उपचार भइरहेको पनि जानकारी दिएका छन्।

प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो। दुर्घटनामा परी चालक पनि घाइते भएका छन्। हिमाञ्चल प्रदशेका मुख्यमन्त्री जयराम ठाकुरले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति सहानुभुती व्यक्त गरेका छन्। सिन्ह्वा

प्रकाशित: १५ वैशाख २०७६ १०:५१ आइतबार

बस_दुर्घटना भारत मृत्यु