अन्तर्राष्ट्रिय

भाषण गरिरहेका हार्दिक पटेललाई मञ्चमै थप्पड !

नयाँदिल्ली– पटेल समुदायका निम्ति आरक्षण आन्दोलनको अगुवाई गरेर चर्चामा आएका युवा नेता हार्दिक पटेलमाथि गुजरातमा थप्पड प्रहार भएको छ। भारतमा भइरहेको लोकसभा निर्वाचनअन्तर्गत भारतीय राष्ट्रिय कांग्रेसद्वारा गुजरातको सुरेन्द्रनगरस्थित बढवानमा शुक्रवार आयोजित चुनावी सभालाई सम्बोधन गरिरहेका पटेलमाथि तरुण गज्जर नामका व्यक्तिले थप्पड प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे गृहक्षेत्र हाे। पटेल अहिले कांग्रेसमा छन्।

महेसाण जिल्लाको कडी भन्ने ठाउँका गज्जर भाजपा समर्थक रहेको बताइएको छ। उनी पटेल समुदायको आन्दोलनबाट असन्तुष्ट थिए। आन्दोलन चलिरहँदा उनकी पत्नी गर्भवती अवस्थामा अस्पतालमा थिइन। औषधि लिन जाँदा पसल बन्द भएको र आफ्नो बच्चालाई जोखिम मोलेर बचाएको बताउँदै उनले त्यही दिन आफूले आन्दोलनका कमाण्डर पटेललाई सबक सिकाउने निर्णय गरेको र थप्पड हानेको प्रहरीको सोधपुछमा बताएका छन्।

मञ्चमा भाषण गरिरहेका पटेलको गालामा थप्पड प्रहार गरेपछि समर्थकले गज्जरलाई समातेर कुटपिट गरेका थिए। प्रहरीले उद्दार गरी अस्पताल पुर्याएको र उनको उपचार भइरहेको छ। 

घटनापछि हार्दिक पटेलले आफूलाई मार्ने भाजपाको चाल भएको प्रतिक्रिया दिएका छन्। आफूहरु चुप नलाग्ने उनको चेतावनी छ। 
यसअघि भाजपाका प्रवक्ता जीवीएल नरसिंहा रावमाथि दिल्लीमा आयोजित पत्रकार सम्मेलनमै बिहीबार जुत्ता प्रहार भएको थियो। 

प्रकाशित: ६ वैशाख २०७६ १०:१५ शुक्रबार

लोकसभा_निर्वाचन हार्दिक_पटेल थप्पड