अन्तर्राष्ट्रिय

सवारी दुर्घटनामा ११ को मृत्यु

तस्बिरः एजेन्सी

इस्लामाबाद – पाकिस्तानमा भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा केही महिला र बालबालिकासमेत रहेको अधिकारीहरुले मंगलबार जानकारी दिएका छन्।

घटनामा परी नौ जना घाइते भएका छन्। एउटा ट्रक र यात्रुवाहक भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ। तीव्र गतिमा रहेको ट्रकले भ्यानलाई ठक्कर दिएर दुर्घटना भएको सरकारी अधिकारीहरूको भनाइ छ।

दुर्घटना पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। घटनालगत्तै उद्धारकर्मी, प्रहरी र स्थानीय बासिन्दाले घाइतेको घटनास्थलबाट उद्धार गरेर नजिकैको अस्पतालमा पु-याएका थिए।घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने स्वास्थ्यकर्मीले अनुमान गरेका छन्।

प्रकाशित: ४ वैशाख २०७६ ०२:१९ बुधबार

पाकिस्तान सवारी_दुर्घटना मृत्यु