अन्तर्राष्ट्रिय

सुडानमा नागरिक सरकार बनाउन विपक्षीको माग

 खार्तुम - सुडानको विपक्षी गठबन्धनले अन्तरिम सैन्य परिषद्लाई अन्तरिम नागरिक सरकारमा रुपान्तरण गर्न माग गरेको छ । तत्कालिन राष्ट्रपति ओमार अल बशिरलाई पदच्युद गरी सेनाले नै सैन्य परिषद् गठन गरेको घोषणा गरेपछि विपक्षीहरुले नागरिक सरकार बनाउन माग गरेका हुन् ।
 
सुडान विपक्षी स्वतन्त्र र परिवर्तन गठबन्धनले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्नका लागि नागरिक स्तरबाट सरकार बनाउनु पर्नेमा जोड दिएको छ । सुडानी विभिन्न पेशागत संगठनहरु समेत रहेको गठबन्धनले सैन्य परिषद्को नेतृत्व गर्नु भएका लेफ्टीनेन्ट जनरल अब्देल फत्ताह अल बुर्हान अब्देल रहमानलाई सडकको आवाज सुन्न पनि आग्रह गरेको छ ।
 
आम नागरिकहरुले तत्काल नागरिक सरकार बनाउन माग गरेको र सैन्य परिषद्ले लिएको शक्ति हस्तान्तरण गर्न गठबन्धनले शुक्रबार जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । सुडानमा ३० वर्षदेखि शासन गर्नु भएका तत्कालिन राष्ट्रपति ओमारलाई हटाएर सैन्य परिषद् गठन गरेपछि पनि प्रदर्शनहरु भइरहेका छन् । 

त्यसअघि पनि ओमारलाई हटाउन माग गर्दै सैन्य मुख्यालय अगाडि लामो समयदेखि प्रदर्शन भइरहेको थियो । विरोध प्रर्दशन  बढ्दै गएपछि शुक्रबार नै अन्तरिम सैन्य परिषद्का अध्यक्ष तथा तत्कालिन रक्षा मन्त्री अवाद मोहम्मद इब्न आफले राजिनामाको घोषणा गरेका छन्। उनले लेफ्टीनेन्ट जनरल रहमानलाई जिम्मेबारीदिएका छन्। सन् १९८९ कु गरेर शासन गर्दै आएका ओमारलाई विगत चार महिना देखि भएको रक्तपातपूर्ण आन्दोलनपछि सैन्य उच्चअधिकारीहरुले पदमुक्त गरिदिएका हुन् ।उनीहरुले दुई बर्षका लागि परिषद् गठन गरिएको र त्यसपछि लोकतान्त्रिक प्रक्रियामार्फत नागरिक सरकार बनाइदिने बताएका छन् ।रासस

प्रकाशित: ३० चैत्र २०७५ ०७:३० शनिबार

सुडान विपक्षी_गठबन्धन ओमार_अल_बशिर पदच्युद