अन्तर्राष्ट्रिय

पाकिस्तानमा नेपाली खाद्य महोत्सव

 काठमाडौँ - नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेश गरेको सन्दर्भमा पाकिस्तानमा नेपाली खाद्य महोत्सवको आयोजना गरियो। राजधानी इस्लामावाद, आर्थिक नगर कराँची र सांस्कृतिक शहर लाहोरमा आयोजित उक्त महोत्सवमा नेपालको साङ्गीतिक समूह ‘कुटुम्ब’ले विविध साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेको इस्लामावादस्थित नेपाली राजदूतावासले आज जनाएको छ।

गत बिहीबार सम्पन्न नौ दिवसीय उक्त महोत्सवको पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्साल र पाकिस्तानका विदेशसचिव तेहेमिना जञ्जुले संयुक्त रुपमा उद्घाटन गरेका थिए। त्यस अवसरमा राजदूत लम्सालले दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताए। दूतावासका अनुसार पाकिस्तानका विदेशसचिव जञ्जुले पाकिस्तानको पर्यटन प्रवद्र्धनमा नेपालको अनुभव र सीप उपयोगी हुने विचार व्यक्त गरे।

प्रकाशित: ३० चैत्र २०७५ ०४:११ शनिबार

कूटनीतिक_सम्बन्ध खाद्य_महोत्सव ‘कुटुम्ब’