अन्तर्राष्ट्रिय

भाजपाद्वारा चुनावी घोषणापत्रसार्वजनिक, कृषिलाई विशेष प्राथमिकता

आसन्न लोकसभा निर्वाचनका लागि चुनावी घोषणापत्र जारी गर्दै (बायाँबाट क्रमशः) विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह । तस्बिर : एजेन्सी

नयाँ दिल्ली – भारतको सत्तारुढ भारतीय जनता पार्टीले आसन्न लोकसभा निर्वाचनका लागि सोमबार आफ्नो चुनावी घोषणापत्र जारी गरेको छ। भाजपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा विशेषगरी किसानमैत्री कार्यक्रमलाई जोड दिइएको छ।

निर्वाचनमा प्रमुख मतदाता रहेका किसानलक्षित विभिन्न योजनासहितका घोषणापत्र भाजपाले सार्वजनिक गरेको छ। भारतमा आधाभन्दा बढी  जनसंख्या अहिले पनि कृषि पेशामा आबद्ध रहेका छन्। दुई हेक्टरसम्म जमिन भएका साना किसानलक्षित आम्दानी योजनालाई भाजपाले अब देशमा रहेका सबै किसानलक्षित योजना बनाएको छ। भाजपाले अघि सारेको योजनाअनुसार अब सबै किसानले वार्षिक छ हजार भारतीय रुपैयाँ पाउने छन्। भाजपाले आफ्नो घोषणापत्रमा अबदेखि साना किसान र व्यापारीले सरकारबाट पेन्सनसमेत पाउने व्यवस्था उल्लेख गरेको छ। उसले किसानको आम्दानी सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता पनि आफ्नो घोषणापत्रमा गरेको छ।

घोषणापत्रमा देशका सबै किसानका लागि प्रधानमन्त्री किसान सम्मान निधि योजना सुरु गरिने समेत उल्लेख छ। कृषि क्षेत्रमा उत्पादन वृद्धिका लागि २५ लाख करोड रुपैयाँ लगानी गर्ने घोषणापत्रमा जनाइएको छ। भाजपाले सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रिय सुरक्षालाई प्रमुख प्राथमिकता दिएको छ। घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै भारतीय गृहमन्त्री एवं भाजपा नेता राजनाथ सिंहले भारतले ‘आतंकवादविरुद्ध शून्य सहनशीलता’ कायम गर्ने पटकपटक दोहो¥याए। सो अवसरमा बोल्दै गृहमन्त्री राजनाथ सिंहले राष्ट्रिय सुरक्षाको विषयमा कुनैपनि सम्झौता नहुने बताए। आतंकवादलाई नियन्त्रण गर्नका लागि सुरक्षा बललाई सशक्त पारिने समेत उनले बताए।

सुरक्षाबललाई आधुनिक हतियारले सुसज्जित पारिने जनाउँदै पूर्वोत्तर भारतमा अवैध घुसपैठ रोक्नका लागि प्रभावकारी कदम चालिने पनि नेता सिंहले बताए। संकल्प प्रस्तावको नाम दिइएको घोषणापत्रमा भाजपाले विविध सुधारका उपायलाई पनि स्थान दिएको छ। जसमा गरिब परिवारका लागि स्थायी घर र पानी व्यवस्थापनका लागि प्रत्येक घरमा धाराको पानीलगायतका उपाय रहेका छन्।

घोषणापत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा भाजपा नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणापत्र तीनवटा कुरामा आधारित रहेको जनाए। घोषणापत्रमा राष्ट्रवाद, दर्शन र सुशासनलाई विशेष प्राथमिकता दिइएको उनको भनाइ थियो। उनले भाजपा नेतृत्वको सरकार बने अलग्गै जलशक्ति मन्त्रालय बनाउने समेत घोषणापत्र सार्वजनिक कार्यक्रममा बताए। उक्त मन्त्रालय माछा मार्नेहरुलाई सशक्त पार्ने काममा क्रियाशील हुने प्रधानमन्त्री मोदीको भनाइ थियो। भाजपाका अध्यक्ष अमित शाहको अध्यक्षतामा भएको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा भाजपाले राष्ट्रवाद आफ्नो सरकारको प्राथमिकतामा रहने जनाएको छ। सन् २०२२ सालसम्ममा रेलमार्गलाई ब्रोडगेजमा परिवर्तन गरिने समेत भाजपाको घोषणपत्रमा जनाइएको छ।

भाजपाको चुनावी घोषणापत्रमा भारत २०२५ सम्ममा ५ लाख करोड डलरको अर्थव्यवस्था हुने र २०३२ सम्ममा १० लाख करोड डलर बनाइने समेत जनाइएको छ। देशभरीमा ७५ वटा मेडिकल र इन्जिनियरिङ कलेज खोलिने, एक सय ७५ गिगावाट नवीकरणीय ऊर्जाको लक्ष्य हासिल गरिने योजनासमेत भाजपाको घोषणापत्रमा उल्लेख गरिएको छ। प्रमुख प्रतिपक्षी कंग्रेसले झै भाजपाले पनि संघीय संसद् र राज्य संसद्मा ३३ प्रतिशत महिलाको सिटलाई सुनिश्चित गर्ने प्रतिबद्धता आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ।

यसअघि सन् २०१४ मा भएको संसदीय निर्वाचनमा पनि सत्तारुढ भाजपा र विपक्षी कंग्रेस दुवै दलले महिलालाई ३३ प्रतिशत सिट सुरक्षित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। भाजपाको चुनावी घोषणापत्रमा संविधानले नै प्रदान गरेका केही विशेष अवस्थालाई खारेज गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। जसमा कास्मिरलाई दिइँदै आएको ‘विशेष स्तर’ खारेज गर्ने लगायतका रहेका छन्।

प्रकाशित: २६ चैत्र २०७५ ०५:०१ मंगलबार

लोकसभा_निर्वाचन भारतीय_जनता_पार्टी घोषणापत्र