अन्तर्राष्ट्रिय

प्रतिबन्धविरूद्ध कानुनी उपाय खोज्ने भेनेजुएलाको चेतावनी

विदेशमन्त्री जर्ज अरियाजा। तस्बिर: एजेन्सी

कराकस– संयुक्त राज्य अमेरिकाद्वारा एकतर्फी रूपमा भेनेजुएलामाथि दबाब दिने उद्देश्यसाथ लगाइएको नयाँ प्रतिबन्धको विरोध गर्दै यसको कानूनी समाधान खोज्ने भेनेजुएली सरकारले बताएको छ।

दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको पेट्रोलियम उद्योगमाथि प्रतिबन्ध लगाउने अमेरिकी ट्रम्प प्रशासनको निर्णयविरूद्ध सम्बन्धित अन्तर्राष्ट्रिय कानुनमार्फत प्रतिरोध गर्ने भेनेजुयलाले चेतावनी दिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति ट्रम्प सरकारको निर्णयलाई स्वार्थी तथा अपराधी निर्णयको संज्ञा दिँदै यसबाट आफ्नो मुलुकको अन्तर्राष्ट्रिय अधिकारको उल्लङ्घन भएको भेनेजुएलाले बताएको छ। भेनेजुएलाका विदेशमन्त्री जर्ज अरियाजाले शनिबार ट्विटरमार्फत जारी गरेको प्रेस विज्ञप्तिमा अमेरिकी कदमको अन्तर्राष्ट्रिय समाधान खोज्ने चेतावनी दिइएको छ।
वासिङ्टनले भेनेजुएलाको राज्य सञ्चालित पेट्रोलियम उद्योग पिडिभीएसएका तेल बोक्ने विभिन्न ३४ पानीजहाजमाथि प्रतिबन्ध लगाउने घोषणापछि भेनेजुएलाको यस्तो प्रकृतिको आधिकारिक प्रतिक्रिया आएको हो। अमेरिकी निर्णयले आफ्नो छिमेकी मित्र राष्ट्र क्युबामा तेल निर्यातमा समस्या परेको भेनेजुएलाको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ।

प्रतिबन्धले क्युबाका लागि सामान ढुवानी गर्दै आएका लाइबेरियास्थित बाल्लिटो सिपिङ कम्पनी, ग्रिसस्थित प्रोपर इन म्यानेजमेन्ट कम्पनीलाई प्रभावित पार्ने बताइएको छ। ‘वासिङ्टनले प्रतिबन्ध लगाएर भेनेजुएला तथा क्युबाका जनतालाई मात्र सजाय दिने नभई तेलको ढुवानी गर्ने अन्तर्राष्ट्रिय कम्पनी तथा व्यापार संगठनसमेतलाई प्रभावित पार्ने देखिएको छ,’ भेनेजुएलाका विदेशमन्त्री जर्ज अरियाजाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 

 

प्रकाशित: २५ चैत्र २०७५ ०६:३८ सोमबार

भेनेजुएला अमेरिका