अन्तर्राष्ट्रिय

राष्ट्रसंघका महासचिवद्वारा लिवियाली तनावबारे चासो व्यक्त

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस। तस्बिर: एजेन्सी

त्रिपोली– पछिल्लो समय लिवियामा देखिएको सैन्य तनावप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार चासो व्यक्त गरेका छन्।

‘लिवियाको समस्या सैनिक बलको प्रयोगबाट सम्भव हुँदैन,’ महासचिव गुटेर्रेसले बताएका छन्। ‘लिवियाली सरकार र विद्रोही पक्षबीचको विद्यमान समस्या समाधानको उत्कृष्ट विकल्प वार्ता हो। म लिवियाली नेताहरूलाई भेट्ने तयारी गरिरहेको छु त्यसैले यति बेला सबै पक्ष शान्त र संयमित रहन आग्रह गर्दछु,’ महासचिव गुटेर्रेसले बताएका छन्।

विद्रोही र सरकारी पक्षबीच वार्ताको वातावरण बनाउन राष्ट्रसंघका महासचिव बुधबार लिवियाली राजधानी त्रिपोली पुगेका छन्। पूर्वी क्षेत्रमा रहेका लिवियाली सेनाका प्रवक्ताले बुधबार एक विज्ञप्ति जारी गरी सेनाले देशको पश्चिमी क्षेत्रतर्फ बढ्न लागेको बताएका थिए। लिवियाको राजधानी त्रिपोलीसहित पश्चिममा सैनिक अघि बढ्ने र विद्रोहीको नियन्त्रणबाट लिवियालाई स्वतन्त्र गर्ने सैनिक प्रवक्ताले घोषणा गरेका थिए।

सेना प्रवक्ताले अभिव्यक्ति बाहिरिएको केही घण्टापछि राष्ट्रसंघको समर्थन प्राप्त लिवियाली सरकारले सो घोषणाविरूद्ध सार्वजनिक वृत्तमा सचेत बन्न आग्रह गरेको छ । पूर्वमा सैनिकको समर्थन प्राप्त खालिफा हफ्तरको नेतृत्वको सरकार रहेको छ। देशमा अहिले पूर्वी र पश्चिमी क्षेत्रमा दुई छुट्टाछुट्टै सरकारको अस्तित्व रहेको छ।  सन् २०११ मा तत्कालीन तानाशाह मोहम्मर गद्दाफीलाई जनआन्दोलनको बलमा पदच्युत गरिएपछि  अहिले असुरक्षा र अस्तव्यस्थताबीच लिवियाली जनता प्रजातान्त्रिक रूपान्तरणका लागि संघर्षरत रहेका छन्।

प्रकाशित: २२ चैत्र २०७५ ०५:०८ शुक्रबार

सैन्य_तनाव लिविया