अन्तर्राष्ट्रिय

केरलाबाट राहुलको उम्मेदवारी दर्ता

भारतीय राष्ट्रिय कंगे्रसका अध्यक्ष राहुल गान्धी । तस्बिर: एजेन्सी

केरला– भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा सदस्यका लागि केरलाको वायानादबाट निर्वाचन लड्ने गरी उम्मेदवारी दर्ता गराएका छन्। 

वायानादमै पुगेर गान्धीले स्थानीय समयअनुसार बिहीबार बिहान ११ बजेतिर उम्मेदवारी दर्ता गराएको पार्टीका महासचिव केसी भेनुगोपाले जानकारी दिएका छन्। उनले बिहीबार नै महाराष्ट्रको नागपुरमा आयोजित चुनावी -यालीलाई समेत सम्बोधन गरेको समाचारमा जनाइएको छ।

पार्टीको प्रदेश समितिको आग्रहमा गान्धीले वायानादबाट लोकसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन्। कंग्रेसको केरला प्रदेशका अध्यक्ष एम आई सानावासको गत वर्ष निधन भएपछि खाली भएको ठाउँमा गान्धीले उम्मेदवारी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।

यस निर्वाचन क्षेत्रबाट सानावास सन् २००९ र २०१४ मा गरी दुई पटक निर्वाचित भएका थिए। यो ठाउँ कंग्रेसको लागि जित्न सजिलो ठाउँ मानिन्छ। वायानादबाहेक उत्तर प्रदेशको अमेठीबाट पनि गान्धीले उम्मेदवारी दिन लागेका छन्। अमेठीमा उनले बहालवाला केन्द्रीय मन्त्री एवं भारतीय जनता पार्टीकी नेत्री स्मृति इरानीसँग प्रतिस्पर्धा गर्नेछन्।

यसअघि मार्च ७ मा कंग्रेसले घोषणा गरेको पार्टीबाट निर्वाचन लड्नेहरुको पहिलो सूचीमा अध्यक्ष गान्धी अमेठीबाट मात्रै उम्मेदवार बन्ने उल्लेख थियो। उनले दुई ठाउँबाट उम्मेदवारी दिन लागेको विषयलाई कंग्रेसका नेताहरुले आवश्यकता भनेका छन् भने प्रमुख प्रतिस्पर्धी भारतीय जनता पार्टी (भाजपा)का नेताहरुले गान्धी डराएको वा आफ्नो एक ठाउँको जितमा ढुक्क हुन नसकेको रूपमा व्याख्या गरेका छन्।

प्रकाशित: २२ चैत्र २०७५ ०४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App