अन्तर्राष्ट्रिय

गान्धीनगरबाट पहिलोपटक लोकसभा चुनाव लड्दै अमित शाह

गुजरात- भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवारी दिएका छन्। भारतको सत्तारुढ दलका अध्यक्ष शाहले शनिबार आफ्नो उम्मेदवारी दर्ता गराएकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। अध्यक्ष शाह अहिले राज्यसभा सदस्य छन्। उनले पहिलो पटक लोकसभाका लागि उम्मेदवारी दिएका हुन्। 

शाहले उम्मेदवारी दिएको गान्धीनगर निर्वाचन क्षेत्रमा यसअघि भाजपाकै वरिष्ट नेता लालकृष्ण आडवाणीले निर्वाचन जितेका थिए। गृहमन्त्री राजनाथ सिंह, पञ्जाबका पूर्व मुख्यमन्त्री प्रकाशसिंह बादल, यातायात मन्त्री नितिन गड्करी, शिवसेना प्रमुख उद्धव ठाकरे, लोक जनशक्ति पार्टीका अध्यक्ष रामविलास पासवान र भाजपाका राष्ट्रिय महासचिव राम लाल लगायतको उपस्थितिमा उनले उम्मेदवारी दर्ता गराएकाे भाजपाका सचिव महेन्द्र पाण्डेले जानकारी दिए। 

उम्मेदवारी दर्ता गर्नुअघि उनले अहमदावादको नारायणपुरमा आयोजित वृहत चुनावी -यालीलाई सम्बोधन गरेका थिए। 

भारतमा आगामी अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा निर्वाचन हुन लागेको छ। निर्वाचनका लागि मतदानको दिन नजिकिँदै गर्दा चुनावी चहलपहल बढेको छ। 

प्रकाशित: १६ चैत्र २०७५ ०९:५२ शनिबार

भाजपा अमित_शाह भारत लोकसभा