अन्तर्राष्ट्रिय

रुस–भेनेजुएलाबीच २० वटा सम्झौताको तयारी

कराकास– रुस र भेनेजुएलाबीच ऊर्जा र शिक्षासमेतका विभिन्न क्षेत्रमा सहयोगसम्बन्धी २० वटा विषयमा सम्झौता हुन लागेको भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले बताएका छन्। 

‘अप्रिल महिनामा रुस र भेनेजुएलाबीच अन्तरसरकारी सहयोगसम्बन्धी उच्चस्तरीय कार्यदलको बैठक बस्दैछ। बैठकमा आर्थिक, व्यापारिक, सांस्कृतिक, ऊर्जा र शिक्षासम्बन्धी २० वटा दस्तावेजमा हस्ताक्षर हुनेछ,’ रुसी समाचार समिति ताससँगको अन्तर्वार्तामा राष्ट्रपति मादुरोले बताए। 
एक सय सैनिकका साथ दुईवटा रुसी सैनिक विमान भेनेजुएलाको राजधानी कराकासमा उत्रिएको भोलिपल्टै राष्ट्रपति मादुरोको यस्तो भनाइ सार्वजनिक भएको हो।
राष्ट्रपति मादुरोले अमेरिकी नेतृत्वमा आएको भनिएको मानवीय सहायता ‘नक्कली’ भन्दै रुसले वास्तविक मानवीय सहायता पठाएकामा रुसलाई धन्यवाद दिएको फ्रान्सेली समाचार एजेन्सीले उल्लेख गरेको छ। ‘दुई साताअघि कैयौं टन सहायता सामग्री रुसबाट आइपुग्यो। सहयोगको अर्को खेप पनि प्राप्त हुने आशा गरेका छौं र हामीलाई सबैभन्दा बढी आवश्यकता औषधीको हो,’ राष्ट्रपति मादुरोले बताए। 

गत साता राष्ट्रपति मादुरोले रुसबाट औषधी प्राप्त हुने बताएका थिए। गत फेब्रुअरीमा कोलम्बियासँगको सीमामा अलपत्र परेको मानवीय सहायता सामग्री राष्ट्रपति मादुरोले अहिलेसम्म रोकिदिएका छन्। उनले अर्को आदेश नभएसम्म ब्राजिलसँगको सीमा नाका बन्द गर्न पनि आदेश दिएका छन्।

गत जनवरीमा विपक्षी नेता उवान गुआइडोले आफूले आफैंलाई मुलुकको आधिकारिक राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा आर्थिक तथा राजनीतिक संकट उत्पन्न भएको छ। संयुक्त राज्य अमेरिकासहित अधिकांश युरोपेली राष्ट्रले गुआइडोलाई अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिएका छन् तर रुस, चीन, टर्कीसमेतका केही देशले मादुरोलाई समर्थन जनाएका छन्।

राष्ट्रपति मादुरोले अमेरिकाले गुआइडोको आडमा आफूलाई सत्ताच्यूत गर्न लागिपरेको आरोप लगाउँदै आएका छन्। अन्तर्राष्ट्रिय समुदायले तत्काल भेनेजुएलामा निर्वाचन गराउनुपर्ने माग गरिरहेका छन्। अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्न आर्थिक प्रतिबन्ध घोषणा गर्नुका साथै भेनेजुएलाको राज्य नियन्त्रित तेल कम्पनी पिडिभिएसएसँग इन्धन खरिद नगर्ने जनाएको छ।

 

प्रकाशित: १४ चैत्र २०७५ ०५:१२ बिहीबार

रुस भेनेजुएला सम्झौता