अन्तर्राष्ट्रिय

जग्गा विवादमा कारण भएको झडपमा १३४ जनाको मृत्यु

न्युयोर्क – मध्य मालीको मोप्ती क्षेत्रमा रहेको अगोसागा जग्गा तथा सिँचाइबारे भएको विवादपछिको आक्रमणका कारण कम्तीमा १३४ जनाको मृत्यु भएको अनुगमनका लागि पुगेको संयुक्त राष्ट्रसंघको टोलीले जानकारी गराएको छ। शनिबार बिहान गाउँ घेरा हाली गरिएको आक्रमणका कारण यति ठूलो संख्यामा सामुहिक हत्या भएको एक स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। आक्रमणकारीले स्थानीय अगोसागा पेउल गाउँका अधिकांश घर तथा टहरामा आगजनीसमेत गरेको बताइएको छ।

यसैबीच, ‘संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसद्वारा मालीको एउटा ग्रामीण बस्तीलाई घेरा हाली एक बन्दूकधारी समूहले गरेको आक्रमणबाट महिला तथा बालबालिकासहित कम्तिमा १३४ जनाको हत्या गरिएको घटनाको घोर भत्र्सना गरेका छन्,’ राष्ट्रसंघ प्रमुख गुटेर्रेसका सह–प्रवक्ता फारहन हकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

अगोसागा पेउल गाँउलाई बन्दुकधारी ठूलो समूहले घेरा हाली गरेको आक्रमणमा कम्तिमा ५५ जना घाइते भएका थिए। घाइतेमध्ये कैयौंको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ। ‘महासचिवले सो घटनाको भत्र्सना गर्दै घटनाको तत्काल अनुसन्धान गरी उक्त जघन्य आक्रमणमा संलग्नलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन मालीका अधिकारीलाई आग्रह गर्नुभएको छ, हकले जनाएका छन्। 
विज्ञप्तिमा भनिएको छ, ‘उहाँले मृतकका परिवार तथा आफन्तजन, मालीका जनता तथा सरकारप्रति समवेदना व्यक्त गर्दै घटनामा घाइते हुने सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।’ त्यस्तै, राष्ट्रसंघ प्रमुखले मालीका अधिकारीलाई मध्यमालीमा शान्ति तथा स्थायित्व ल्याउने प्रयासलाई दोब्बर गरेर अघि बढ्न आग्रहसमेत गरेको एएफपीले उल्लेख गरेको छ।

प्रकाशित: ११ चैत्र २०७५ ०५:०९ सोमबार

जग्गा_विवाद झडप मध्य_माली १३४_जनाको_मृत्यु