अन्तर्राष्ट्रिय

‘सिरियामा इस्लामिक स्टेट पूर्ण रूपमा पराजित’

आइएसबाट जफत गरेको भवनको माथि पहेंलो झन्डा फहराउँदै अमेरिका समर्थित एसडिएफ लडाकु। तस्बिर : एजेन्सी

दमास्कस – आफ्नो अन्तिम आधार क्षेत्र गुमाएसँगै सिरियाबाट इस्लामिक स्टेट (आइएस) पराजित भएको अमेरिका समर्थित सिरियन डेमोक्रेटिक फोर्सेस् (एसडिएफ)ले शनिबार जनाएको छ।

जिहादी समूहको बलियो पकड रहेको बागुज क्षेत्रमा एसडिएफका लडाकुहरुले विजयको झन्डा फहराएको बिबिसीले जनाएको छ। आइएसलाई पराजित गरेसँगै सिरियाली कुर्द टेलिभिजनले अमेरिका समर्थित फौजले आइएसबाट जफत् गरेको भनिएको भवनमाथि पहेंलो झन्डा फहराइरहेको देखाएको छ। योसँगै आइएसको इस्लामिक परम्परामा आधारित शासन व्यवस्था ‘क्यालिफेट’को अन्त्य भएको एसडीएफले जनाएको छ।

आफ्नो अन्तिम पकड क्षेत्र पनि गुमाएसँगै आइएसको इस्लामिक परम्परामा आधारित शासन व्यवस्था ‘क्यालिफेट’ को अन्त्य भएको छ। एसडिएफका प्रवक्ताले आफ्नो भूभागबाट आइएस सय प्रतिशत पराजित भएको घोषणा गरेका हुन्। ‘सिरियाबाट आइएस पूर्णरूपमा पराजित भएको छ,’ एसडिएफ प्रवक्ता किनो गाब्रियलले बताए।

‘एसडिएफसँगको युद्धमा बागुजमा सुरूदेखि अन्तिमसम्म जम्मा एक हजार छ सय आइएस नेता तथा लडाकु मारिएका छन् भने २५ हजार एसडिएफको कब्जामा आएका छन्,’ उनले बताए। यसैगरी आइएसको आक्रमणमा परी आफ्नोतर्फ मात्रै ८२ जना लडाकुको मृत्यु भएको र ६१ जना घाइते भएको एसडिएफ प्रवक्ता गाब्रियललाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले बताएको छ।

आइएसविरूद्धको अन्तिम लडाइँ उसको नियन्त्रणमा रहेको बागुज इलाकालाई लक्षित गरी यही महिनाको सुरुबाट थालिएको उनले बताए। गाब्रियलले भने, ‘सो क्षेत्रमा धेरै संख्यामा सर्वसाधारण पनि भवन, सुरुङ र टेन्टहरुमा रहेको कुरा बाहिर आएपछि गठबन्धन आफ्ना कारबाही मत्थर पार्न बाध्य भएको थियो।’

‘तथाकथित क्यालिफेट पूर्णरूपमा अन्त्य भएको र आइएस समूह सय प्रतिशत पराजित भएकोे छ,’ एसडीएफ सञ्चार प्रमुख मुस्तफा बालीले ट्विटमार्फत् जानकारी गराएका छन्। ‘यो अनुपम दिनमा हामी यो जित सम्भव पार्न प्रयास गर्ने हजारौं सहिदहरूलाई श्रद्धाञ्जली दिन चाहन्छौ,’ बालीको ट्विट उद्धृत गर्दै एएफपीले जनाएको छ।

जिहादी समूहले कुनै बेला सिरिया र इराकको गरी ८८ हजार वर्ग किलोमिटर भूभाग नियन्त्रणमा राखेको थियो। सन् २००३ मा अमेरिकी नेतृत्वले इराकमा गरेको आक्रमणपछि इराकमा अल–कायदाबाट छुट्टिएर आइएस गठन भएको थियो। सो समूह सन् २०११ मा सिरियाका राष्ट्रपति बसर अल–असदविरुद्धको विद्रोही समूहसँग संलग्न भएको थियो। सन् २०१४ सम्ममा उसले इराक र सिरियाको ठूलो भूभाग कब्जा गरी आइएसको इस्लामिक परम्परामा आधारित शासन व्यवस्था ‘क्यालिफेट’ को घोषणा गरेको थियो। इराकी सरकारले सन् २०१७ मा नै आइएस लडाकुविरुद्ध जितको घोषणा गरिसकेको थियो। तर सो समूह पूरै निमिट्यान्न भने भएको थिएन। अमेरिकी अधिकारीहरुका अनुसार आइएससँग १५ देखि २० हजारसम्म हतियारसहितका समर्थक अझै बाँकी रहेका छन्। तर तीमध्ये अधिकांश लामो समयदेखि निष्कृय रहँदै आएका छन्। यद्यपि उनीहरूले आइएसको सहयोगका लागि गोप्य रूपमा काम गर्दै आएको हुनसक्ने एसडिएफको अनुमान छ। उनीहरू आफ्नो आधार क्षेत्र पुनः निर्माण गर्ने प्रयासमा ती इलाकामा फेरि फर्किने अमेरिकी अधिकारीहरूको बुझाइ छ।

बगुजमा हार सन्निकट भए पनि आइएसले आफ्ना प्रवक्ता अबु हसन अल मुहाजिरको आवाज भएको भनिएको एउटा श्रव्य सामग्री सार्वजनिक गरेको छ। उक्त श्रव्य सामग्रीमा क्यालिफेट अन्त्य नभएको दाबी गरिएको बिबिसीले उल्लेख गरेको छ।

प्रकाशित: १० चैत्र २०७५ ०५:२१ आइतबार

आइएस सिरियन_डेमोक्रेटिक_फोर्सेस् सिरिया