अन्तर्राष्ट्रिय

आफ्ना सेना प्रमुख पक्राउ परेको भेनेजुएली विपक्षीको भनाइ

सरकारी छापापछि विपक्षी नेता उवान गुआइडोका चिफ अफ स्टाफ रोबर्टो मार्रेरोको कराकसस्थित घरमा छरपस्ट रहेका सामान। तस्बिर : एजेन्सी

कराकस  – भेनेजुएलाका विपक्षी नेता उवान गुआइडोले गुप्तर कर्मचारीले आफ्ना ‘चिफ अफ स्टाफ (सेना प्रमुख)’लाई बिहीबार बिहानै छापा मारेर पक्राउ गरेको बताएका छन्। विपक्षी नेताको यस्तो आरोपले राष्ट्रपति निकोलास मादुरो आफ्ना विरोधीप्रति कठोर बन्दै गएको संकेत मिलेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

‘उनीहरुले मेरा चिफ अफ स्टाफ रोबर्टो मार्रेरोलाई पक्राउ गरेका छन्,’ गुआइडोले ट्विट गरेका छन्। उनले ट्विटमै मार्रेरो र विपक्षी सांसद सेर्गियो भर्गाराको कराकसस्थित निवासमा एकाबिहानै सरकारी गुप्तचरले छापा मारेको समेत बताएका छन्। ‘उनीहरु कहाँ छन् भन्ने हामीलाई जानकारीसमेत दिइएको छैन। उनीहरुलाई तत्काल रिहा गरिनुपर्छ,’ ट्विटमा उल्लेख गरिएको छ।

गुआइडोका चिफ अफ स्टाफ रोबर्टो मार्रेरोलाई बिहीबार बिहानै सरकारी गुप्तर कर्मचारीले पक्राउ गरेको समाचार बाहिरिएलगत्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले एउटा ट्विट गर्दै सो कदमको विरोध गरेका छन्। उनले मार्रेरोलाई तत्काल रिहा गर्न माग गर्दै ट्विटमा भनेका छन्, ‘यस घटनामा संलग्न सबैलाई हामीले उचित जबाफ दिने छौं। संयुक्त राज्य अमेरिकाले बारम्बार मादुरोलाई गुआइडोविरुद्धमा कुनै पनि कदम नचाल्न चेतावनी दिँदै आएको छ।

भेनेजुएलाका समाजवादी नेता ह्युगो चाभेजको निधनपछि सन् २०१४ मा भेनेजुएली राजनीतिमा उदाएका मादुरोले गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनमा दोस्रो कार्यकालका लागि जित हासिल गरेका थिए। यद्यपि सो निर्वाचनमा उनले कतिपय विरोधी पार्टी र नेतालाई प्रतिस्पर्धा गर्नबाटै रोकेका थिए। अधिकांश विपक्षीले मादुरोले गराउने निर्वाचन स्वतन्त्र र निष्पक्ष नहुने भन्दै निर्वाचन बहिष्कारसमेत गरेका थिए।

विपक्षीको भनाइअनुसार मतदाताको अत्यन्तै न्यून सहभागितामा सम्पन्न भएको सो निर्वाचन अवैध थियो। तर सोही निर्वाचनको मतपरिणामलाई हवाला दिँदै मादुरोले यसै वर्षको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपति पदको शपथ लिएपछि भेनेजुएलाको राजनीति थप तनावग्रस्त बनेको थियो। मादुरोको शपथलाई लिएर विपक्षीले जनवरी महिनाको तेस्रो साता राजधानी कराकसमा आयोजना गरेको विरोध प्रदर्शनमा भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष एवं विपक्षी नेता उवान गुआइडोले आफूले आफैंलाई राष्ट्रपति घोषणा गरेका थिए।

देशको संविधान उद्धृत गर्दै गुआइडोले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेको थिए। भेनेजुएलाको संविधानअनुसार देशमा राष्ट्रपति नभएको बखत वा वैधानिक रूपमा राष्ट्रपति नभएका बेला राष्ट्रिय सभाका अध्यक्ष अन्तरिम राष्ट्रपति हुने प्रावधान रहेको छ। त्यसरी बन्ने अन्तरिम राष्ट्रपतिको प्रमुख कार्य यथासक्य निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने  हुन्छ।विपक्षीले मादुरो वैधानिक नभएकाले गुआइडोले देशको संविधानअनुसार नै आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेको दाबी गर्दै आएका छन्।

गुआइडोको घोषणा आएलगत्तै संयुक्त राज्य अमेरिकाले उनलाई मान्यता दिएको थियो। अमेरिकाको बाटो पछ्याउँदै हाल ५० भन्दा बढी राष्ट्रले गुआइडोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको मान्यता दिइसकेका छन्।

उता, मादुरोको पक्षमा भने संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्यसमेत रहेका रुस र चीन देखिएका छन्। उनीहरुले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालगायतका राष्ट्रलाई चेतावनीसमेत दिँदै आएका छन्। चीन र रुसको बाटो पछ्याउँदै टर्की र मेक्सिकोलगायतका राष्ट्रले पनि मादुरोको पक्षमा आफूलाई उभ्याएका छन्। विपक्षी नेता गुआइडोले देशको शक्तिशाली सेनालाई राष्ट्रपति मादुरोको विरोधमा उत्रन आग्रह गरे पनि सेनाले भने प्रष्टै रूपमै मादुरोको साथ दिँदै आएको छ।

राष्ट्रपति मादुराले विपक्षी नेता गुआइडोलाई अमेरिकाको कठपुतलीको संज्ञा दिँदै उनले कानुनी सजाय भोग्नुपर्ने बताउँदै आएका छन्। यद्यपि विपक्षी नेता गुआइडोलाई पक्राउ गेर्नबारे भने उनको सरकारले खुला रूपमा केही भनेको छैन।

प्रकाशित: ८ चैत्र २०७५ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App