अन्तर्राष्ट्रिय

न्युजिल्यान्डमा सैन्य शैलीको हतियार प्रतिबन्ध

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्दा अर्डेर्न।

वेलिङ्टन – न्युजिल्यान्ड सरकारले सबै प्रकारका अर्धस्वचालित हतियार र राइफलमाथि प्रतिबन्ध लगाएको छ। केही दिनअघि ५० जनाको ज्यान जाने गरी क्राइस्टचर्चमा रहेका दुई भिन्न मस्जिदमा भएको गोलीकाण्डपछि न्युजिल्यान्ड सरकारले यसअघि सर्वसाधारणलाई हतियार राख्न दिएको व्यवस्थालाई परिवर्तन गरेको हो।

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्दा अर्डेर्नले अबदेखि कसैले पनि घातक राइफल र स्वचालित हतियार राख्न नपाउने गरी प्रतिबन्ध लगाइएको जानकारी गराएकी छन्। गत शुक्रबार एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरी मस्जिदमा प्रार्थना गरिरहेका ५० जनाको हत्या गरेपछि सरकारको यस्तो घोषणा आएको हो। प्रधानमन्त्री अर्डेर्नले हतियारमाथिको प्रतिबन्धसम्बन्धी विधेयक संसद् सुरु भएलगत्तै अप्रिल ११ सम्म आइसक्ने बताएकी छन्। ‘हाम्रो इतिहास सधैंका लागि परिवर्तन भएको छ। अब कानुन पनि परिवर्तन हुनेछ,’ उनले बताइन्।

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्दा अर्डेर्नले अबदेखि कसैले पनि घातक राइफल र स्वचालित हतियार राख्न नपाउने गरी प्रतिबन्ध लगाइएको जानकारी गराएकी छन्।

‘संक्षेपमा, शुक्रबारको आतंकवादी आक्रमणमा प्रयोग गरिए जस्ता हरेक अर्ध–स्वचालित हतियारमाथि यस मुलुकमा प्रतिबन्ध लगाइने छ,’ प्रधानमन्त्री अर्डेर्नले बताइन्। उनले उच्च क्षमतायुक्त म्याग्जिन र डिभाइसको प्रयोगमा पनि बन्देज लगाइने बताइन्। उच्च क्षमतायुक्त म्याग्जिन र डिभाइसको मद्दतले उच्च गतिमा गोली प्रहार गर्न सकिन्छ।

यसैबीच एकल व्यक्तिले गराएको भनिएको गत साताको क्राइस्टचर्च गोलीकाण्डमा परी निधन भएका सबैको पहिचान खुलिसकेको न्युजिल्यान्ड सरकारलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। अस्ट्रेलियाका एक अतिवादी गोरा व्यक्तिले न्युजिल्यान्डको कमजोर बन्दुक नियमको फाइदा उठाउँदै क्राइस्टचर्च आक्रमण आक्रमण गरेका थिए।

ब्रेनटन टारेन्ट नाम गरेका ती व्यक्तिले क्राइस्टचर्च गोलीकाण्ड मच्चाएका थिए। हाल उनीविरुद्ध एउटा हत्या मुद्दा चलाइएको छ र उनले थप मुद्दा पनि खेप्नुपर्ने अनुमान पनि गरिएको छ। संयुक्त राज्य अमेरिका र विश्वका विभिन्न मुलुकमा पनि बन्दुक नियन्त्रणको पक्षमा वकालत गरिरहेकाहरुले न्युजिल्यान्डको पछिल्लो कदमप्रति खुशी व्यक्त गरेका छन्।

प्रकाशित: ८ चैत्र २०७५ ०४:०९ शुक्रबार

न्युजिल्यान्ड_सरकार हतियार प्रतिबन्ध