अन्तर्राष्ट्रिय

मृत ह्वेलको पेटमा ४० किलो प्लास्टिक

मनिला – विश्वभर प्लास्टिकको प्रयोग कुन मात्रामा भइरहेको छ भन्ने उदाहरण बेलाबखत सार्वजनिक हुने गरेका छन्।प्लास्टिकले मानिसलाई मात्रै हैन, विभिन्न जीवजन्तुलाई पनि कति प्रभाव पारेको छ भन्ने  एउटा उदाहरण भर्खरै फिलिपिन्समा भेटिएको एउटा मृत ह्वेलको पेटमा भेटिएको ४० किलोग्राम प्लास्टिकको झोलाले पुष्टि गरेको छ। फिलिपिन्समा मृत अवस्थामा फेला परेको सो ह्वेलको पेटबाट ४० किलोग्राम प्लास्टिकका झोला भेटिएको अनुसन्धानकर्ताहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

यही महिनाको सुरुवातमा फिलिपिन्सको डाभाओ सहरको पूर्वतिर डिबोन कलेक्टर म्युजियमका कामदारले सो मृत ह्वेल फेला पारेका थिए। ‘हामीले अहिलेसम्म भेटेको ह्वेलमध्ये यो ह्वलेको पेट धेरै प्लास्टिकले भरिएको छ,’ म्युजियमले राखेको फेसबुक पोस्ट उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। ह्वेलको पेटमा १६ वटा चामलका प्लास्टिक बोराका साथै थुप्रै सपिङ झोला रहेको सो संग्रहालयले जनाएको छ।

ह्वेलको पेटमा भेटिएको प्लास्टिकजन्य पदार्थको विस्तृत विवरण आगामी केही दिनभित्र फेसबुकमार्फत् नै जानकारी गराइने म्युजियमले जनाएको छ। ‘मैले यत्रो मात्रामा ह्वेलको शरीरबाट प्लास्टिकजन्य पदार्थ भेटिन्छ होला भनेर अनुमान नै गरेको थिइँन,’ म्युजियमका संस्थापक एवं अध्यक्ष ड्यारेल ब्लातच्लेलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ। ‘ह्वेलको पेटभित्र ठूलो मात्रामा प्लास्टिकका झोला थिए,’ उनले बताए।

प्लास्टिकका झोला प्रयोग गरेर फ्याल्ने प्रवृत्ति फिलिपिन्सलगायत केही दक्षिणपूर्वी एसियाली मुलुकमा समस्याका रूपमा रहेको छ। समुद्रमा मिसिने प्लास्टिकजन्य पदार्थको ६० प्रतिशत हिस्सा पाँच एसियाली मुलुक चीन, इन्डोनेसिया, फिलिपिन्स, भियतनाम र थाइल्यान्डबाट निस्कने म्याककिन्से सेन्टर फर बिजनेस एन्ड इन्भारमेन्ट र इन्भारमेन्टल क्यापेनर ओसियन कन्जरभेन्सीले सन् २०१५ मा जारी गरेको प्रतिवेदन उद्धृत गर्दै बिबिसीले जनाएको छ। थाइल्यान्डमा गत वर्षको जुन महिनामा एउटा पाइलट ह्वेलले ८० वटा प्लास्टिक झोला निलेपछि उसको मृत्यु भएको थियो। बेलायत सरकारले यदि कुनै पनि सावधानी नअपनाइए आगामी दशकमा समुद्रमा पाइने प्लास्टिजन्य पदार्थमा तीनगुणाले वृद्धि हुनसक्ने भन्दै एउटा प्रतिवेदन सार्वजनिक गरेको केही दिनमै प्लास्टिककै कारणे ह्वेलको मृत्यु भएको खबर बाहिरिएको थियो।

प्रकाशित: ७ चैत्र २०७५ ०६:३७ बिहीबार

मृत_ह्वेल