अन्तर्राष्ट्रिय

थाइल्यान्डमा नमुना मतदान

राजधानी बैंककमा आइतबार नमुना मतदानका लागि लामबद्ध थाई नागरिक। तस्बिर : एजेन्सी

बैंकक – थाइल्यान्डमा आइतबार ठूलो भिडभाडका साथ देशभर नमुना मतदान सम्पन्न भएको छ।
मतदान केन्द्र तोकिएका विद्यालय, पार्किङस्थल र मन्दिरलगायतका ठाउँमा हजारौंको संख्यामा मतदाताले नमुना मतदान गरेको बताइएको छ।

आठ बर्षपछि थाइल्यान्डमा मार्च २४ का दिन आमनिर्वाचन हुन गइरहेको छ। सन् २०१४ मा सैन्य ‘कू’पछि थाइल्यान्डमा पहिलो पटक आमनिर्वाचन हुन लागेको हो। आसन्न आमनिर्वाचनको तयारीका लागि आइतबार गरिएको नमुना मतदानमा हजारौं मतदाताले घण्टौं कुरेरसमेत मतदान गरेको बताइएको छ। नमुना मतदानमा झण्डै २३ लाख थाई नागरिकले मतदान गरेका छन्। सन् २०१४ मा तत्कालिन प्रधानमन्त्री यिङ्लक सिनावात्राको कार्यकालदेखि अहिलेसम्म पटक–पटक निर्वाचन सर्दै आएको छ। यद्यपि आइतबार नमुना मतदान सम्पन्न भएकाले यस पटक भने निर्धारित समयमै मतदान हुने अपेक्षा गरिएको छ।

नमुना मतदानका बेला मतदातालाई सरकारी कर्मचारी, सैनिकसहितका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, विद्यार्थी र स्वंयमसेवकले सघाएका थिए। मतदान भइरहेको एउटा विद्यालयमा थाई नरेश माहावाजिरालोङकोर्न पनि पुगेर अवलोकन गरेको सरकारी अधिकारीलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

मार्च २४ तारिखका दिन हुने वास्तविक निर्वाचनका लागि देशभरी पाँच करोड दश लाखभन्दा बढी मतदाता रहेका छन्। तीमध्ये झण्डै एक लाख २० हजार मतदाताले देश बाहिरबाट मतदान गर्न पाउने भएका छन्। थाई निर्वाचन आयोगका अधिकारीले दिएको जानकारीअनुसार देश बाहिरबाट मतदान गर्नेहरू ६७ देशमा रहेका छन्। मतदान गर्ने आप्रवासीमध्ये सबैभन्दा धेरै अस्ट्रेलियामा रहेका छन् भने दोस्रो धेरैअमेरिकामा रहेका छन्। निर्वाचनका लागि झण्डै दश हजार उम्मेद्वार चुनावी मैदानमा उत्रिएको निर्वाचन आयोगले जनाएको छ।

थाइल्यान्डमा देशभरी गरेर कुल ३५० निर्वाचन क्षेत्र रहेका छन्। हरेक निर्वाचन क्षेत्र र पार्टीको सूचीबाट गरी निर्वाचन हुने कूल सांसदको संख्या भने पाँच सय रहेको छ। थाइल्यान्डको राजनीतिमा ठूलो प्रभाव रहेको सिनावात्रा परिवारको पार्टी भने यो निर्वाचनमा सहभागी हुनबाट बञ्चित भएको छ।

मार्च २४ तारिखका दिन हुने वास्तविक निर्वाचनका लागि देशभरी पाँच करोड दश लाखभन्दा बढी मतदाता रहेका छन्।

पूर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यिङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई अदालतले विघटन गरिदिएपछि निर्वाचनमा भाग लिनबाट बञ्चित भएको हो। पूर्वनिर्धारित कार्यतालिका अनुसार आम निर्वाचनका लागि मतदान गर्ने दिन आउन दुई साता बाँकी रहँदा अदालतले सो पार्टी विघटनको फैसला गरेको थियोे।

थाई राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने प्रयास गरेर पार्टीले अवैध र गलत काम गरेको भन्दै अदालतले विघटन गरिदिएको बताइएको छ। संवैधानिक अदालतका नौ सदस्यले सर्वसम्मत सो पार्टी विघटन गर्ने निर्णय गरेको थियो। थाइल्यान्डकी राजकुमारी उबोलरत्ना महिडोलले केही साता अगाडि रक्षा चार्टबाट उम्मेद्वार बन्ने घोषणा गरेकी थिइन्।

निर्वाचन आयोगले भने उम्मेद्वार बन्न अयोग्य रहेको घोषणा गरेपछि उनी आफ्नो निर्णयबाट पछाडि हटेकी थिइन्। उनले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उनका भाइ तथा थाइल्यान्डका नरेश माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाएपछि आयोगले उनलाई अयोग्य घोषणा गरेको थियो।

राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने नरेशको भनाइअनुसार ६७ वर्षीया राजकुमारी महिडोललाई आयोगले अयोग्य घोषणा गरिदिएको थियो। थाइल्यान्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रुपमा हेरिने भएकाले राजसंस्थाको आशयलाई पालना गरेको पाइन्छ। आफ्ना भाइको असन्तुष्टि र निर्वाचन आयोगले अयोग्य घोषणा गरेपछि राजकुमारी उबोलरत्नाले पनि क्षमा माग्दै आफू उम्मेद्वार नबन्ने बताएकी थिइन्।

अदालतले सिनावात्रा परिवारका दुई सदस्यसहित सो पार्टीका केही नेतालाई एक दशकसम्म राजनीतिमा प्रतिबन्ध पनि लगाएको छ।

प्रकाशित: ४ चैत्र २०७५ ०४:१५ सोमबार

थाइल्यान्ड नमुना_मतदान