न्युयोर्क - भारत र पाकिस्तानलाई हालै युद्धको सँघारमा पु-याइ दिने गरी भारत प्रशासित कस्मिरमा आत्मघाती आक्रमण गराउने समूहका नाइके मसुद अजहरलाई आतंकवादी घोषणा गर्ने प्रक्रियालाई चीनले पुनःस्थगित गराइदिएको छ।
मसुद अजहर भारत प्रशासित कस्मिरको पुलवामामा हालै ४० जना भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान जाने गरी गराइएको आत्मघाती विस्फोटन गराउने जैस–ए–मोहम्मदका नाइके हुन्। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् समक्ष जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको सम्पत्ति रोक्का, यात्रा तथा हातहतियार प्रतिबन्ध लगाउने प्रस्ताव लगिएको थियो। सुरक्षा परिषद्को स्थायी राष्ट्र एवं विशेषाधिकार प्राप्त चीनले भने सो प्रस्तावबारे अध्ययन गर्न थप समय चाहिने भन्दै त्यसलाई स्थगन गर्न आग्रह गरेसँगै अजहरलाई आतंककारी घोषणा गर्ने भारतीय योजनामा पुनः रोक लागेको हो।
प्रस्ताव नौ महिनासम्म लम्बिन सक्ने बताइएको छ। यसअघि पनि भारतले अजहरलाई आतंकवादी घोषणा गर्नेबारे ल्याएको प्रस्ताव चार पटकसम्म पाकिस्तानको नजिकको साझेदार चीनले रोकिदिएको थियो। चीनको आग्रहबमोजिम भारतीय प्रस्ताव पारित नभए पनि भारतले सरकारले आफ्नो प्रस्तावमा समर्थन गर्ने अन्य राष्ट्रहरुलाई भने धन्यवाद दिएको बिबिसीले उल्लेख गरेको छ। भारतीय सरकारले अमेरिका, बेलायत र फ्रान्सद्वारा अगाडि बढाइएको सो प्रस्तावलाई समर्थन जनाएका अन्य सदस्य राष्ट्रहरूलाई धन्यवाद दिएको हो।
चिनियाँ पक्षले आफ्नो प्रस्ताव रोकिदिएपछि एक विज्ञप्ति जारी गर्दै भारतले उसका नागरिकविरुद्ध हमलामा संलग्न आतंककारी नाइकेहरुलाई न्यायको कठघरामा लानेबारे सबै उपलब्ध उपायहरू अपनाउने जनाएको छ। संयुक्त राष्ट्रसंघमा भएको मतदानको नतिजा बाहिरिएसँगै भारतको प्रमुख विपक्षी दल कंग्रेस आईका अध्यक्ष राहुल गान्धीले गिज्याउने शैलीमा ट्विट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘कमजोर’ को संज्ञा दिएका छन्।
भारतमा तल्लो सदन लोकसभाको निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र प्रमुख प्रतिपक्षी कंग्रेसबीच घोचपेच भइरहेको पछिल्लो समयमा यो विषयले पनि प्रवेश पाएको हो। कंग्रेस आई अध्यक्ष राहुल गान्धीले गरेको प्रधानमन्त्री मोदीलक्षित ट्विट पनि आमनिर्वाचन अघि उनीविरुद्धकोघ घोचपेच नै भएको कतिपयको बुझाई रहेको छ। संयुक्त राष्ट्रसंघमा रहेको चिनियाँ मिसनले भने यस विषयलाई जिम्मेवारीपूर्वक हल गर्न चाहेको उल्लेख गरेको छ।
अजहरको विषयमा चीनले ‘जिम्मेवारपूर्ण व्यवहार’ को समर्थन गर्न खोजेको तथा उक्त मुद्दाबारे ‘सम्बन्धित पक्षहरूसँग वार्तालापमार्फत्’ समाधान गर्न चाहेको राष्ट्रसंघका निम्ति चिनियाँ कूटनीतिक कार्यालयले पत्रकारहरुलाई बताएको फ्रान्सेली समाचार एजेन्सी एएफपी उल्लेख गरेको छ। अजरलाई आतंकवादी घोषणा गर्ने पर्याप्त आधार भएको र यदि चीनले अवरोध गरिरहे ‘अन्य बाटो’ अपनाउन सकिने संकेत सूत्रहरूले दिएका छन्।
जैस–ए–मोहम्मदको शाब्दिक अर्थ मोहम्मदको सेना भन्ने हुन्छ, बिबिसीले उल्लेख गरेको छ। पाकिस्तान आधारित मुस्लिम धार्मिक गुरू मसुद अजहरले सन् १९९९ मा भारतबाट रिहा भएलगत्तै जैस–ए–मोहम्मद गठन गरेका थिए। भारतीय एयरलायन्सको विमान अपहरण गरी तत्कालीन तालिबान शासन रहेको अफ्गानिस्तान पु-याइएपछि यात्रु र चालक दललाई रिहा गर्दा उनीसहित अन्य दुई जनालाई पनि भारतले रिहा गरेको थियो।
अफ्गानिस्तानमा रहँदा अजहरले तालिबान नेता मुल्लाह ओमार र अल–कायदा प्रमुख ओसामा बिन लादेनसँग पनि भेट गरेका थिए। भारतले सन् २०११ मा आफ्नो देशको संसद्माथि भएको आक्रमणमा पनि जैस–ए–मोहम्मदको संलग्नता रहेको आरोप लगाउँदै आएको छ। यद्यपि सो समूहले भने भारतीय आरोप अस्वीकार गर्दै आएको छ।
भारतले आफ्ना देशमा भएका विभिन्न आक्रमणका घटनामा जैस–ए–मोहम्मदको संलग्नता रहेको भन्दै सो समूहको प्रमुखलाई आतंकवादीको सूचीमा राख्न प्रयत्न गरिरहे पनि पाकिस्तानको आग्रहमा चीनले अवरोध सिर्जना गरिरहेको नयाँ दिल्लीको बुझाई रहेको छ।
प्रकाशित: १ चैत्र २०७५ ०४:२४ शुक्रबार