अन्तर्राष्ट्रिय

प्रगति नभए सम्झौतामा हस्ताक्षर हुँदैन : ट्रम्प

चिनियाँ उपवाणिज्य मन्त्री वाङ साउवेन। तस्बिर : एजेन्सी

वासिङ्टन - संयुक्त राज्य अमेरिका र चीनबीच तीन महिनादेखि जारी व्यापार वार्ताका विषयमा वासिङ्टन र बेइजिङबाट आइरहेका विवादास्पद टिप्पणीले समस्या समाधानमा अन्यौल बढेको विज्ञहरुले औंल्याएका छन् ।

दुवै देशका उच्च व्यक्तित्वबाट आएका टिप्पणीले विश्व सेयर बजारमा समेत असर परेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू व्यापार वार्ताप्रति आशावादी रहेको तर अमेरिकाका जायज सरोकार सम्बोधन नहुँदासम्म चीनसँग कुनै सम्झौता नहुने स्पष्ट गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । राष्ट्रपतिका एक जना आर्थिक सल्लाहकारले पनि राष्ट्रपति ट्रम्प वार्ताबाट कुनै पनि समय बाहिरिन सक्ने चेतावनी दिएका छन् । गत वर्षदेखि नै दुई आर्थिक महाशक्ति राष्ट्र चीन र अमेरिकाबीच व्यापारका विषयमा विवाद चुलिएको थियो । दुवै देशबाट एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलरबराबरका सामानको आयात निर्यात गर्दा करवृद्धि गर्ने घोषणा गरिएको छ। यी कदमले विश्वको आर्थिक वृद्धि र व्यावसायिक आत्मविश्वासमा जोखिम सिर्जना गरेको छ।

‘मलाई सम्झौता हुनेमा पूर्णविश्वास छ तर यसमा अमेरिकी हित नसमेटिए म हस्ताक्षर गर्दिनँ,’ आँधीले तहसनहस भएको अलाबा राज्यको भ्रमणमा निस्कनुअघि ह्वाइट हाउसमा संवाददातालाई राष्ट्रपति ट्रम्पले बताए। अमेरिकी र चिनियाँ अधिकारीले विवाद समाधानतर्फ सकारात्मक प्रगति भइरहेको बताएका छन् तर बेइजिङस्थित अमेरिकी कूटनीतिज्ञले शुक्रबार तत्कालै दुवै मुलुकबीच सम्झौता भइहाल्ने स्थिति नरहेको बताएकाले व्यापार वार्ताले सार्थक निष्कर्ष निकाल्नेमा विज्ञहरुले शंका व्यक्त गरेका छन् । 

अमेरिकाले चीनमा गहिरो संरचनात्मक परिवर्तन हुनुपर्ने माग गर्दै आएको छ । विदेशी लगानीकर्ता र आफ्नो स्वामित्वका उद्यममाथि चीनले गरिरहेको फरक व्यवहारमा परिवर्तन गर्नुपर्ने अमेरिकी माग छ । साथै अमेरिकाले चिनियाँ मुद्रा र अमेरिकी प्रविधिको संरक्षणलाई प्रमुख विषयका रूपमा उठाएको छ। ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुड्लोले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हुने भनिएको शिखर वार्ता आगामी अप्रिलमा मात्र हुन सक्ने बताएका छन् । दुवै देशका अधिकारीले यसअघि शिखर वार्ता यसै महिना अर्थात मार्चको अन्त्यतिर हुन सक्ने बताएका थिए।

कुड्लोले अमेरिकी टेलिभिजन च्यानल सिएनबीसीसँग कुरा गर्दै शिखर वार्तामा सहमति हुने सम्भावना नभए राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँगको हनोई शिखर बैठकमा झैं वार्ताबाट बाहिरिन सक्ने बताए । उनले भने, ‘राष्ट्रपति सीसँगको बैठकको समयसीमा अहिले नै भन्न सकिन्न ।’ अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले पनि दुई देशबीच व्यापार सम्झौता गराउन निरन्तर कार्य गरिरहेका छन् । व्यापार वार्ता सकारात्मक दिशातर्फ नै अग्रसर रहेको जनाउँदै उनले भने, ‘फ्लोरिडामा बैठक हुन सक्छ । यो बैठक यसै महिना वा अर्को महिनाको सुरुमा हुन सक्छ ।’

व्यापार वार्ताप्रति आशावादी छौं : चीन
चीन र अमेरिकाबीचको व्यापार वार्तामा सकारात्मक प्रगति हुनेमा चीन आशावादी रहेको चिनियाँ अधिकारीले बताएका छन् । चीनका वाणिज्य उपमन्त्रीले दुवै देशका वार्ताकारले अहोरात्र खटिएर व्यापारमा देखिएका असमझदारी हटाउन प्रयास गरिरहेको बताए । 

दुवै देशका मध्यस्थकर्ताले यसअघि तीन पटक वार्ता गरिसकेका छन् । अर्को साता हुने छलफलमा सम्झौतालाई अन्तिमस्वरुप दिन प्रयास गरिने बताइएको छ । ‘चीन–अमेरिकाबीच जारी व्यापार परामर्श बैठकले कुनै निचोड निकाल्नेमा म ज्यादै आशावादी छु,’ उपमन्त्री वाङ साउवेनले बताए। 

वाणिज्य अधिकारीले चीनले प्रस्ताव गरेको विदेशी लगानीसम्बन्धी कानुनले सरकारी टेन्डरमा विदेशी कम्पनीले पनि भाग लिन पाउने व्यवस्था गरेको जानकारी दिए । चिनियाँ जनकंग्रेसमा प्रस्तुत गरिएको सो कानुन अर्को शुक्रबार पारित हुने अपेक्षा गरिएको छ। 

उपमन्त्री वाङले प्रस्तावित कानुनमा ४८ वटा क्षेत्रलाई ‘संरक्षित सूची’मा राखिएको छ जहाँ विदेशी लगानीलाई या त निषेध गरिएको छ वा विशेष अनुमति आवश्यक पर्नेछ । ‘सम्पूर्ण प्रक्रिया खुला छ र विदेशी लगानीकर्ताका लागि कानुनी संरक्षणको व्यवस्था छ,’ उनले बताए । 

विदेशी फर्मका लागि चीनको व्यवसायिक वातावरणका बारेमा उत्पन्न चासोलाई सम्बोधन गर्ने लक्ष्य लिइएको यो कानुन पारित भएमा विदेशी लगानी अझ बढी आकर्षित हुने चीनको विश्वास छ । यो कानुनले प्रविधिको गैरकानुनी हस्तान्तरणलाई प्रतिबन्ध लगाएको छ भने विदेशी व्यवसायमा अवैध सरकारी हस्तक्षेपलाई पनि रोक्नेछ । यी दुई विषयलाई अमेरिकी सरकारले विगतदेखि नै उठाउँदै आएको छ। 

प्रकाशित: २६ फाल्गुन २०७५ ०४:०५ आइतबार

अमेरिका चीन व्यापार_वार्ता